Redirecting...

४ महिना सवारी किन्न लिए पौने २ अर्ब ऋण, कारभन्दा कमर्शियलमा धेरै - www.meroauto.com

४ महिना सवारी किन्न लिए पौने २ अर्ब ऋण, कारभन्दा कमर्शियलमा धेरै - www.meroauto.com
Source: meau

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ चार महिना (साउन-कात्तिक)मा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सवारी साधन किन्ने बढेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवमा सवारी साधन खरिदका लागि प्रदान गरिने हायरपर्चेज कर्जा लगानी १.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार चालु आवकाे कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका हुन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेकोमा कात्तिक आइपुग्दा बढेर १ खर्ब ३० अर्ब ३४ करोड लाख रुपैयाँ पुगेको हो । चालु आवमा अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएसँगै कर्जा लगानी बढेको हो । आर्थिक गतिविधिमा सुधार आउँदा सवारी साधनको खरिद बिक्री बढ्दा हायर पर्चेज कर्जा लगानीमा पनि सुधार आएको हो । पछिल्लो समय अटोमोबाइल क्षेत्र चलायमान बनेको छ । सवारी आयात तथा बिक्री दुवै बढेको छ । चालु आवको ४ महिनामा मात्रै ५ हजार ६६६ युनिट कार, जीप, भ्यान लगायत सवारी साधन आयात भएका छन् । त्यस्तै, १ लाख युनिट बढी दुईपाँग्रे र २ हजार युनिट बढी मिनिबस, माइक्रो, बस, ट्रक लगायत सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ । अहिले बैंकको ब्याजदर एक दशक यताकै तल्लो बिन्दुमा आएको छ । ६/७ प्रतिशत ब्याजदरमै ऋण पाइने अवस्था छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले बैंकहरूले पनि आकर्षक स्कीम ल्याइरहेका छन् । जसकारण ऋण लिएर नयाँ सवारी किन्नेहरू पनि बढ्न थालेको देखिन्छ । निजीभन्दा कमर्शियल गाडी किन्न लिए धेरै ऋण चालु आवमा निजी सवारीभन्दा व्यापारिक प्रयोजन (कमर्शियल) सवारी खरिदका लागि धेरै कर्जा लिएका छन् । राष्ट्र बैंकका अनुसार ४ महिनामा कमर्शियल सवारी किन्न १ अर्ब २ करोड ४१ लाख रुपैयाँ र निजी सवारी किन्न ६१ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी भएको हो । चालु आवमा निजी सवारी किन्न लिने कर्जाको वृद्धिदर १.५ प्रतिशत र कमर्शियल सवारीको १.२ प्रतिशत रहेको छ । गत असार मसान्तसम्म कमर्शियल सवारीमा बैंक तथा वित्तीय संस्थाहरूले ८६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा भदौ मसान्तसम्म बढेर ८७ अर्ब १३० करोड रुपैयाँ पुगेको हो । त्यस्तै, असार मसान्तसम्म निजी सवारीमा ४२ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी भएकोमा कात्तिक आइपुग्दा ४३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । The post ४ महिना सवारी किन्न लिए पौने २ अर्ब ऋण, कारभन्दा कमर्शियलमा धेरै appeared first on Meroauto.