टेस्लाले मस्कको एक्सएआईमा २ अर्ब डलर लगानी गर्यो, साइबरक्याब उत्पादन यसै वर्ष सुरु हुने पुनः पुष्टि - www.technologykhabar.com
टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृत इलन मस्कको कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमा २ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। साथै कम्पनीले साइबरक्याब रोबोट्याक्सीको उत्पादन योजना सन् २०२६ भित्रै सुरु हुने मार्गमा रहेको पनि पुनः पुष्टि गरेको टेस्लाले बुधबार जनाएको छ। यस घोषणाले टेस्लालाई विद्युतीय सवारी निर्माता कम्पनीबाट एआई केन्द्रित कम्पनीतर्फ रूपान्तरण गर्ने मस्कको रणनीतिलाई थप बल दिएको छ। यही रणनीतिलाई टेस्लाको करिब १.५ ट्रिलियन डलरको बजार मूल्यांकनसँग जोडेर हेरिँदै आएको छ। यसका साथै, विगतमा मस्कले गरेका केही उत्पादनसम्बन्धी वाचा पूरा हुन नसकेको सन्दर्भमा, साइबरक्याब उत्पादनबारे दिइएको आश्वासन लगानीकर्ताको विश्वासका लागि महत्वपूर्ण मानिएको छ। तर साइबरक्याब, मानवरूपी (ह्युमानोइड) रोबोट, सेमी ट्रक र रोडस्टर स्पोर्ट्स कार उत्पादनका योजनाले टेस्लालाई ठूलो कारखाना लगानीतर्फ धकेल्ने भएको छ। प्रमुख वित्तीय अधिकृत वैभव तनेजाका अनुसार, कम्पनीको पुँजीगत खर्च सन् २०२६ मा २० अर्ब डलर नाघ्ने अनुमान छ, जुन २०२५ को ८.५ अर्ब डलरभन्दा दोब्बरभन्दा बढी हो। यस घोषणापछि अफ्टर–आवर कारोबारमा टेस्लाको सेयर मूल्य करिब ३.५ प्रतिशतले बढेको थियो। तर पुँजीगत खर्चको विवरण सार्वजनिक भएपछि वृद्धि घटेर अन्ततः १.८ प्रतिशतमा सीमित भएको छ। इन्भेस्टिगेटिङ डटकमका वरिष्ठ विश्लेषक थोमस मोन्टेइरोका अनुसार टेस्ला अहिले “संक्रमणकालीन चरण” मा प्रवेश गरिरहेको छ जहाँ कम्पनीले सवारी बिक्री पुनः सुधार नहुँदासम्म स्वचालित ड्राइभिङ सफ्टवेयर र रोबोट्याक्सी व्यवसायबाट भविष्यमा आउने आम्दानीमा लगानीकर्तालाई विश्वास गर्न आग्रह गरिरहेको छ। उनका अनुसार अब सवारी डेलिभरीभन्दा पनि प्रणाली विस्तार का सूचकहरू मुख्य संकेतक बन्नेछन्। मस्कले यसअघि रोबोट्याक्सी सेवाबारे पटक–पटक यथार्थभन्दा बढी अनुमान प्रस्तुत गरेको आलोचना खेप्दै आएका छन्। बुधबार उनले यसै वर्षको अन्त्यसम्म अमेरिकाको करिब २५ देखि ५० प्रतिशत भूभागमा पूर्ण स्वचालित सवारी सञ्चालन हुने अपेक्षा व्यक्त गरे। यसअघि उनले २०२५ को अन्त्यसम्म अमेरिकी जनसंख्याको आधासम्म रोबोट्याक्सी पुग्ने बताएका थिए, तर पछि लक्ष्यलाई आठदेखि १० ठूला महानगरमा सीमित गरेका थिए। यद्यपि, हाल टेक्सासको अस्टिनमा सीमित सेवा मात्र सञ्चालनमा रहेको छ। टेस्लाको मुख्य ईभी व्यवसाय पनि दबाबमा परेको छ किनभने प्रतिस्पर्धी कम्पनीहरूले कम मूल्यमा नयाँ मोडेल ल्याइरहेका छन्। साथै, अमेरिकामा ईभी कर छुट अन्त्य हुनु र मस्कका कट्टर दक्षिणपन्थी राजनीतिक अभिव्यक्तिले केही ग्राहक टाढा भएको विश्लेषण गरिएको छ। यसैबीच मस्कले विश्लेषकहरूसँगको कन्फरेन्स कलमा मोडल एस सेडान र मोडल एक्स एसयूभीको बिक्री बन्द गर्ने जानकारी दिएका छन्। यी मोडेलले एक समय टेस्लालाई ईभी बजारको अगुवा बनाएका थिए तर हाल कुल आम्दानीमा सानो हिस्सा मात्र ओगटिरहेका छन्। रोयटर्सका अनुसार ती मोडेल उत्पादन हुने कारखाना क्षेत्र रोबोट निर्माणका लागि प्रयोग गरिनेछ। टेस्लाको कुल आम्दानी २०२५ मा करिब ३ प्रतिशत घटेर ९४.८३ अर्ब डलरमा झरेको छ, जसले कम्पनीको इतिहासमै पहिलो पटक वार्षिक आम्दानी घटेको अवस्था देखाएको छ। बिक्री कायम राख्न टेस्लाले छुट र प्रोत्साहनमा अत्यधिक निर्भरता बढाएको छ र लोकप्रिय मोडेलका सस्ता संस्करणहरू ल्याएको छ। भिजिबल अल्फाको तथ्यांकअनुसार वाल स्ट्रिटले २०२६ मा टेस्लाले १७.७७ लाख सवारी डेलिभरी गर्ने अपेक्षा गरेको छ, जुन ८.२ प्रतिशत वृद्धि हो। चौथो त्रैमासिकमा प्रति सेयर समायोजित नाफा ५० सेन्ट पुगेको छ, जुन वाल स्ट्रिटको ४५ सेन्टको अनुमानभन्दा बढी हो। तर सोही अवधिमा खुद नाफा ६१ प्रतिशत घटेर ८४० मिलियन डलरमा सीमित भएको छ। बिक्री घटे पनि, नियामक क्रेडिट बाहेकको अटोमोटिभ ग्रस मार्जिन १७.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १३.६ प्रतिशतभन्दा उल्लेख्य सुधार हो र अपेक्षाभन्दा माथि रहेको भिजिबल अल्फाले जनाएको छ। ऊर्जा उत्पादन र भण्डारण व्यवसाय भने टेस्लाको उज्यालो पक्ष बनेको छ। नवीकरणीय ऊर्जा समर्थन र विद्युत सञ्जाल स्थायित्वका लागि प्रयोग हुने ग्रिड–स्तरीय ब्याट्रीको माग निरन्तर बढ्दा यस क्षेत्रले राम्रो प्रदर्शन गरेको हो। डिसेम्बर त्रैमासिकमा ऊर्जा उत्पादन तथा भण्डारणबाट हुने आम्दानी २५.५ प्रतिशतले बढेर रेकर्ड ३.८४ अर्ब डलर पुगेको छ, जुन विश्लेषकहरूको ३.४६ अर्ब डलरको अनुमानभन्दा धेरै हो। The post टेस्लाले मस्कको एक्सएआईमा २ अर्ब डलर लगानी गर्यो, साइबरक्याब उत्पादन यसै वर्ष सुरु हुने पुनः पुष्टि appeared first on Technology Khabar.