वडा अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - bankingsamachar.com
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको मर्चवारी गाउँपालिका– ३ का वडाध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले वडा– ३ स्थित विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी ३ लाख घुस मागी उक्त रुपन्देहीको , सिद्धार्थनगर नगरपालिका– ९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको खुल्न आएको छ । उक्त घुस पाण्डेयले लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले यादव र पाण्डेयलाई तीन लाख घुससहित नियन्त्रणमा लिएको हो । आयोगको अनुसन्धानको सिलसिलामा यादवले मर्चवारी गाउँपालिका वडा नं.३ अन्तर्गत सञ्चालित आ.व २०८१/०८२ मा ‘सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण’, ‘पुर्निकोट गाउँभित्र सडक पी.सी.सी.ढलान’ र ‘सुरहवाँ गाउँभित्र सडक पी.सी.सी. ढलान’ कार्य योजनाहरूको काम सम्पन्न भई सिफारिस दिने कार्यमा घुस माग गरी पाण्डेमार्फत रिसवत लिन लगाएको तथ्य पुष्टि हुन आएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा तीन लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र ऐ.ऐ.दफा ३ को उपदफा (१) बमोजिम हुने जरिवानालाई आधार मानी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागवादी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।