बीएनपी संसदीय दलको नेतामा तरिक रहमान चयन, आज प्रधानमन्त्रीको सपथ - kendrabindu.com
काठमाडौँ। बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) को संसदीय दलको नेतामा तरिक रहमान चयन भएका छन्। संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाइ बहुमत प्राप्त गरेको थियो। सोही परिणामअनुसार दलको नेताका रूपमा चयन भएका तरिकले आज दिउँसो चार बजे संसद् भवनको दक्षिण प्लाजामा प्रधानमन्त्री पदको सपथ लिने कार्यक्रम रहेको छ। बीएनपीले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेको जनाएको छ। दलका पदाधिकारीका अनुसार आवश्यक प्रक्रियापछि सपथ ग्रहणको कार्यक्रम तय गरिएको हो। सपथ ग्रहण समारोहमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ। नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा, भारतबाट लोकसभाका सभामुख र पाकिस्तानबाट योजना तथा विकास मन्त्री सहभागी हुने कार्यक्रम छ। यसअघि बिहान १० बजेर ३५ मिनेटमा प्रमुख निर्वाचन आयुक्तले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका थिए। त्यसपछि दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले तरिकलाई दलको नेता चयन गरेको हो। बीएनपीले सन् २०१४, २०१८ र २०२४ का निर्वाचन बहिस्कार गरेको थियो। यसपटकको निर्वाचनमा सहभागी भई बहुमत ल्याएपछि पार्टी सरकार गठनको प्रक्रियामा अघि बढेको छ।