Redirecting...

केपी ओली : एक व्यक्ति, एक युगको प्रतीक - janatatimes.com

केपी ओली : एक व्यक्ति, एक युगको प्रतीक - janatatimes.com
Source: jant

धर्मराज तिमिल्सीना नेपाली राजनीति अनेकौँ उत्थान–पतन, निराशा–आशा र अन्धकार–प्रकाशका चक्रबाट गुज्रँदै आएको छ। तर इतिहासका केही मोडमा यस्ता व्यक्तित्व उदाउँछन्, जो केवल समयको उपज मात्र हुँदैनन्- उनीहरू समयको प्रतिनिधि बन्छन्। परम्परागत संरचनाले बाँधिएको, निरुत्साहित र नेतृत्व संकटले ग्रस्त समाजमा कहिलेकाहीँ एउटा स्पष्ट सपना, दृढ निर्णय र आत्मविश्वासी नेतृत्वले मात्र जनमानसलाई पुनर्जीवित गर्न सक्छ। केपी शर्मा ओली त्यही श्रेणीका नेता हुनुहुन्छ। समर्थकहरू उहाँलाई स्वप्नद्रष्टा, यथार्थवादी राष्ट्रवादी र आधुनिक नेपाली राज्यको वैचारिक पुनर्निर्माता मान्छन् भने आलोचकहरूले कहिलेकाहीँ उहाँको शैलीलाई कार्टूनमा सीमित गर्छन्। तर विश्व इतिहास हेर्दा, परिवर्तनकारी व्यक्तित्वहरू प्रारम्भमा यस्तै द्वैध मूल्याङ्कनको घेरामा परेका उदाहरण असङ्ख्य छन्। ओलीलाई बुझ्नु भनेको केवल नेकपा (एमाले) को राजनीतिलाई बुझ्नु मात्र होइन, यो नयाँ नेपाली राष्ट्रियताबोध, समकालीन शक्ति सन्तुलन, युवाको मनोविज्ञान र २१ औँ शताब्दीको राष्ट्र निर्माण दर्शनलाई बुझ्ने अभ्यास पनि हो। यही कारण उहाँ केवल पार्टी नेता मात्र होइन- एक युगको प्रतीकका रूपमा चर्चा हुनुहुन्छ । ओली किन स्वप्नद्रष्टा स्वप्नद्रष्टा त्यो व्यक्ति हो, जसले वर्तमानका सीमाभन्दा भविष्यका सम्भावनालाई विशाल देख्न सक्छ । जो राष्ट्रलाई आफ्नै कमजोरी र सामर्थ्यसँग सामना गराएर आत्मविश्लेषण गर्न बाध्य बनाउँछ। जसका शब्दभन्दा शक्तिशाली दृष्टि र दिशा हुन्छ । जो जनताको मनोबल र आत्मविश्वास उठाएर देशलाई नयाँ बाटोमा लैजाने प्रेरक शक्ति बन्छ। यही परिभाषाबाट हेर्दा केपी शर्मा ओली स्वप्नद्रष्टाको श्रेणीमा पर्नुको कारण स्पष्ट देखिन्छ। उहाँको राजनीतिक शैलीमा तीन अविभाज्य तत्व सधैँ देखिन्छन्- राष्ट्र प्रेमप्रति अविचल श्रद्धा, कठिन निर्णय लिन सक्ने जोखिम क्षमता र व्यावहारिक राष्ट्र निर्माणमा आधारित स्पष्ट भविष्यदृष्टि। ओलीको सपना भावनामा सीमित छैन- त्यहाँ अडान छ, कार्यनीति छ, मार्गचित्र छ र अन्तर्राष्ट्रिय परिवेशसँग जुध्न सक्ने आत्मविश्वास छ। यही कारण उहाँ केवल नेतृत्व गर्ने व्यक्ति मात्र हाेइन, देशलाई नयाँ दिशामा पुनः परिभाषित गर्ने स्वप्नद्रष्टा हाे । राष्ट्र सोच्ने ओली नेतृत्वका मनोवैज्ञानिक संरचनालाई हेर्दा नेताहरू मूलतः दुई प्रकारका देखिन्छन्- पदलाई केन्द्रमा राखेर राजनीति गर्ने र राष्ट्रलाई हृदयमा राखेर सोच्ने। केपी शर्मा ओली निस्सन्देह दोस्रो श्रेणीका नेता हुनुहुन्छ। उहाँको राजनीतिक सोच बुझ्न तीन आधार अनिवार्य रूपमा अगाडि आउँछन्। पहिलो, राष्ट्रिय स्वाभिमानप्रति असाधारण संवेदनशीलता। राजनीति उनका लागि सत्ता खेल होइन, यो राष्ट्रको अस्तित्व, सम्मान र आत्मगौरवसँग गाँसिएको क्षेत्र हो। चाहे सीमा विवाद होस्, कूटनीतिक जटिलता होस् वा आर्थिक नीतिका चुनौती । ओली सधैँ राष्ट्रलाई केन्द्रमा राखेर निर्णय गर्न खोज्छनुहुन्छ। ‘नेपालीलाई कसैले हेप्न दिन्न’ भन्ने उहाँका शब्द नारा मात्र होइन, गहिरो आत्मविश्वासको अभिव्यक्ति हो। दोस्रो, जोखिम मोलेर निर्णय गर्ने साहस। परम्परागत, सुरक्षित र मध्यमार्गी राजनीतिभन्दा बाहिर गएर उनले चुच्चे नक्साको पुनर्स्थापना, ऊर्जा विकास, रेल र जलमार्गजस्ता दीर्घकालीन पूर्वाधारको कल्पना तथा चीन–भारत–अमेरिकाबीच सन्तुलित कूटनीतिक प्रयास ओलीले गर्नुभयाे। यी निर्णय तात्कालिक लोकप्रियताका लागि होइनन्- राष्ट्रको भविष्य लक्षित कदम थिए। तेस्रो, संगठनात्मक सोच र प्रणालीगत सुधारप्रतिको आग्रह। ओली बोलेर मात्र नेता बन्ने पात्र होइन, उहाँ नतिजाका आधारमा बोल्नु हुन्छ। अनुशासन, प्रशासनिक कडाइ, आर्थिक पूर्वानुमान र संस्थागत सुधार उहाँका नेतृत्वका आधारस्तम्भ हुन्। यही कारण उहाँको शैली व्यक्तिगत महत्वाकांक्षा होइन, राष्ट्र केन्द्रित सोचबाट निर्देशित देखिन्छ। मुर्छित युवा जगाउने शक्ति लामो समयसम्म नेपाली युवाले राजनीतिलाई भ्रष्ट, थकित र निराश व्यवस्थाको पर्यायका रूपमा हेरे। तर यही माहौलमा युवालाई पुनः उत्साहित गर्ने क्षमता देखाउने नेता केपी शर्मा ओली बन्नुभयाे । उहाँका योगदानमध्ये सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रवादको मनोवैज्ञानिक पुनर्जीवन हो। ‘हामी पनि सक्छौँ’ भन्ने आत्मविश्वास, देश छिमेकीको छायाँमा मात्र सीमित छैन भन्ने बोध र आफ्नै भूमि–सम्मानप्रति गर्व-यी भावना युवामा पुनः जागृत भए। ओलीको युवामैत्री शैली सरल भाषा, स्पष्ट निर्णय र देश केन्द्रित भावनामा आधारित छ। उहाँ स्वप्न मात्र देखाउनुहुन्न, त्यो स्वप्न पूरा गर्न राज्य कसरी तयार गर्ने भन्ने खाका पनि दिनुहुन्छ। राष्ट्रवाद र विकासको संयोजनले युवामा जिम्मेवारी, प्रेरणा र सक्रियता जन्माएको छ, जसले उहाँलाई युवालाई पुनर्जीवन दिने प्रेरक शक्तिका रूपमा स्थापित गरेको छ। ‘सुखी नेपाली, समृद्ध नेपाल’ : नारा होइन, रणनीति ‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई प्रारम्भमा आलोचकहरूले राजनीतिक उद्घोषणा मात्र भने। तर गहिरो विश्लेषणले देखाउँछ-यो पाँच तहमा आधारित ठोस रणनीति हो। आर्थिक आत्मनिर्भरता, सामाजिक सुरक्षा विस्तार, सन्तुलित कूटनीति, भौगोलिक अखण्डता र सुशासन-यी पाँच स्तम्भमा यो दृष्टि उभिएको छ। उत्पादनमुखी अर्थतन्त्र, जलविद्युत्, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, सीमा रक्षा र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति-यी सबैले उक्त नारालाई राष्ट्र निर्माणको स्पष्ट रोडम्यापमा रूपान्तरण गरेका छन्। सहकार्य र समन्वयको नेतृत्व ओलीको नेतृत्व केवल कठोरता र दृढतामा सीमित छैन, सहकार्य र समन्वय यसको मूल आत्मा हो। सङ्घ, प्रदेश र स्थानीय तहबीच पूरक सम्बन्ध, निजी क्षेत्रलाई विकासको सहयात्रीका रूपमा स्विकार्ने दृष्टि र प्रतिद्वन्द्वी शक्तिसँग पनि राष्ट्रिय हितमा सहकार्य गर्ने क्षमता उहाँको नेतृत्वको विशेषता हो। निष्कर्ष केपी शर्मा ओली एक व्यक्ति मात्र होइन- एक सम्भावना पनि हाे। संक्रमणको यो कालखण्डमा, जहाँ अर्थतन्त्र कमजोर छ, युवामा अवसरको अभाव छ र प्रणालीप्रति अविश्वास बढ्दो छ, राष्ट्रलाई केन्द्रमा राखेर सोच्ने, जोखिम मोलेर निर्णय गर्ने र स्वाभिमानमा सम्झौता नगर्ने नेतृत्वको आवश्यकता छ। ओली त्यही आवश्यकता प्रतिनिधित्व गर्ने पात्र हाे। इतिहास भाषणले होइन, सपना, निर्णय र परिणामले कोरिन्छ। ओली त्यही सम्भावित इतिहासको रेखा हाे, जहाँ ‘सुखी नेपाली’ भावना मात्र होइन र ‘समृद्ध नेपाल’ सपना मात्र होइन-व्यावहारिक भविष्यदृष्टि हो।