एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली - janatatimes.com
काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गर्नुभएको छ। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताउनुभयो। अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” एमाले रहेको दाबी गर्नुभयो। उहाँले पार्टीको संगठन र जनआधार अझै बलियो रहेको बताउनुभयो । सम्बोधनका क्रममा ओलीले केही समयअघिको परिस्थितिको स्मरण गर्दै भन्नुभयो, ‘ती दिनहरू काला थिए, देश युद्धभूमि जस्तै देखिन्थ्यो, पुराना पार्टीहरू सकिए, नेताहरू गए, एमालेको सान्दर्भिकता सकियो भन्ने प्रचार गरियो तर, धुवाँ, खरानी र निषेधको अवस्थालाई चिर्दै एमाले अघि बढेको छ, नेकपा एमाले अजम्बर छ ।’ उहाँले एघारौँ महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।