दलाइ लामाको सम्मानमा गीत गाएका दुई तिब्बती युवा चिनियाँ सुरक्षाकर्मीद्वारा पक्राउ - www.pardafas.com
दलाइ लामाको ९०औं जन्मदिनको अवसरमा बनाइएको गीतको आवरण गाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीहरूले दुई तिब्बती युवक — त्सुक्ते (लोकप्रिय नाम असाङ) र पेल्क्योङ — लाई मनोमानी रूपमा पक्राउ गरेका छन्। तिब्बती मानव अधिकार तथा प्रजातन्त्र केन्द्र (टीसीएचआरडी) ले यसलाई तिब्बतमा चलिरहेको सांस्कृतिक र धार्मिक दमनको अर्को उदाहरण भएको जनाएको छ। असाङ र पेल्क्योङ दुबै सिचुवान प्रान्तस्थित ङाबा काउन्टीको अदुए गाउँका बासिन्दा हुन्। उनीहरूले प्रिन्स अफ पिस नामक गीतको आवरण संस्करण चिनियाँ सामाजिक सञ्जाल ‘क्वाइशो’ मा सार्वजनिक गरेपछि, जुलाईको सुरुवातमा सुरक्षाकर्मीहरूले उनीहरूलाई गिरफ्तार गरेका थिए। यो गीत सन् २००६ मा तिब्बती गायक शर्टेनले गाएका थिए, जसका शब्द अरिग चोटेन थारले लेखेका थिए। गीतमा दलाइ लामाको जीवन र योगदानको प्रशंसा गरिएको छ — यस्ता विषयहरू बेइजिङका लागि राजनीतिक रूपमा संवेदनशील मानिन्छन्। उनीहरूको गीत केही समय सामाजिक सञ्जालमा चर्चित बनेको थियो तर चाँडै हटाइयो, र असाङको खाता पनि निष्क्रिय बनाइयो। असाङ बार्मा गाउँका नक्त्साङ परिवारका हुन् र तिब्बती भाषा, संस्कृति र आध्यात्मिकताको संरक्षणमा समर्पित कलाकारका रूपमा परिचित छन्। उनी प्रसिद्ध कलाकार धुङलेन गेबेका शिष्य हुन्, जसलाई पनि पहिले सांस्कृतिक अभिव्यक्तिका लागि पक्राउ गरिएको थियो। असाङ यस वर्षको सुरुमा किर्ति गुम्बामा आयोजित एक ठूलो धार्मिक कार्यक्रममा पनि प्रस्तुत भएका थिए। उनी विवाहित छन्, एक सन्तानका पिता हुन् र उनकी श्रीमती ल्हामो हाल दोस्रो सन्तानको गर्भवती छिन्। तर असाङको अवस्था वा स्थानबारे कुनै जानकारी नपाएको कारण ल्हामो मानसिक रूपमा अत्यन्त तनावमा रहेको टीसीएचआरडीले जनाएको छ। पेल्क्योङ, जो अदुए गाउँकै अर्का युवा पिता हुन्, त्यही समयमा पक्राउ परेका थिए। उनीमाथि पनि औपचारिक रूपमा कुनै अभियोग लगाइएको छैन र परिवारलाई पनि केही जानकारी दिइएको छैन। यस्तै, अदुए गुम्बाका भिक्षु छेवाङ धोङ्गो पनि जुलाई १ तिर दलाइ लामाको जन्मदिनको प्रतीकात्मक फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि पक्राउ परेका थिए। उनी मध्यमार्ग दर्शन अध्ययन गर्दै थिए। तर उनी अहिले कहाँ छन् भन्ने अझै थाहा पाइएको छैन। टीसीएचआरडीले यी घटनाहरूलाई तिब्बती धार्मिक र सांस्कृतिक पहिचानमाथिको ‘व्यवस्थित दमन’ को अंश भनेको छ। सन् २०२३ मा गायक पाल्देनलाई दलाइ लामासँग जोडिएको गीत गाएको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको उदाहरण दिँदै टीसीएचआरडी ले चिनियाँ सरकार सांस्कृतिक अभिव्यक्तिलाई राजनीतिक अपराधको रूपमा दर्ता गरिरहेको आरोप लगाएको छ। टीसीएचआरडीले असाङ, पेल्क्योङ र छेवाङ धोङ्गोलाई अविलम्ब रिहा गर्न र तिब्बती पहिचानमाथिको आपराधिकरण अन्त्य गर्न चीनसँग माग गरेको छ। ‘यी गिरफ्तारीहरू अलग घटना होइनन्,ु संस्थाले भनेको छ, ‘यी त चिनियाँ सरकारद्वारा तिब्बती अस्तित्व नै मेटाउने नियोजित नीतिको हिस्सा हुन्।’