सानोभाइ पौडेल विश्व ट्रायथलन ‘लेभल-टु’ प्रशिक्षक बने - ehimalayatimes.com
काठमाडौं । नेपालका सानोभाइ पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल-टु कोर्स उत्तीर्ण गर्नुभएको छ । दक्षिण कोरियाको सोलमा सेप्टेम्बर १२ देखि १६ गतेसम्म विश्व ट्रायथलनको आयोजनामा सम्पन्न कोर्स सफलतापूर्वक पूरा गरेपछि पौडेल अन्तर्राष्ट्रियस्तरका ट्रायथलन एथलेट्सलाई समेत प्रशिक्षण दिन योग्य हुनुभएको छ । ‘लेभल-टु कोर्स निकै चुनौतीपूर्ण थियो,’ पौडेलले भन्नुभयो, ‘यो स्तरको प्रशिक्षक बन्न धेरै मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स सकेर नेपाल फर्किएपछि करिब छ हप्ताभित्र व्यावहारिक अभ्याससम्बन्धी भिडियो तयार गरी पठाएको थिएँ । त्यसको मूल्यांकनपछि बल्ल प्रमाणपत्र प्राप्त गरेको हुँ ।’ सन् २०१९ मा नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथलनमा नेपालले दुई स्वर्णसहित छ पदक जित्दा पौडेल प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । लेभल-टु प्रमाणपत्रपछि उहाँले अब नेपाली ट्रायथलन खेलाडीलाई थप वैज्ञानिक र परिस्कृत प्रशिक्षण प्रदान गर्ने लक्ष्य लिनुभएको छ ।