Redirecting...

४.२० प्रतिशतले घट्यो धान उत्पादन - ehimalayatimes.com

४.२० प्रतिशतले घट्यो धान उत्पादन - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन घटेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार गत आर्थिक २०८१/८२ मा १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा चालु आर्थिक वर्ष ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार आठ सय ७२ हेक्टरमा सीमित हुन पुगेको छ । गत आर्थिक वर्र्ष ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्ष ४.२० प्रतिशतले घटेर ५७ लाख पाँच हजार एक सय २६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । गत वर्षभन्दा धानको उत्पादकत्वसमेत घटेको छ । मन्त्रालयका अनुसार गत वर्ष प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको उत्पादकत्व चालु आर्थिक वर्ष ४.१४ मेट्रिक टन हुने अनुमान छ । धान बालीको क्षेत्रफल र उत्पादनमा कमी आउनुको मुख्य कारणमा पहाडी क्षेत्रमा बसाइसराइ, युवाहरूको विदेशप्रतिको आकर्षण, फलफूल तथा नगदेबाली वृद्धि, तराई र शहरी क्षेत्रमा आप्रवासन, जमिनको औद्योगिक तथा पूर्वाधार निर्माणमा प्रयोग र मधेस प्रदेशमा धान रोपाइँको समयमा परेको खडेरी भएको मन्त्रालयको दाबी छ । गत आर्थिक वर्ष ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्ष ४.२० प्रतिशतले घटेर ५७ लाख पाँच हजार एक सय २६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । गत वर्षभन्दा धानको उत्पादकत्वसमेत घटेको छ । मन्त्रालयकी प्रवक्ता डा. जानुकी पण्डितका अनुसार चालु आर्थिक वर्ष उन्नत बीउ, बिजन र मलखादको पर्याप्त उपलब्धता भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको हो । धान उत्पादनमा आएको कमीले समग्रमा खाद्य सुरक्षामा असर पर्ने भएकाले किसान र योजनाकारले सुधारका लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीको तथ्यांक अनुमान गर्दा सातवटै प्रदेशका कृषि विषय क्षेत्राधिकार भएका प्रदेश मन्त्रालयबाट प्राप्त तथ्यांकलाई आधार लिएको थियो । धानबाली भित्र्याइएको क्षेत्रफलको अनुमान गर्दा अघिल्ला आर्थिक वर्षहरूको क्षेत्रफलसम्बन्धी तथ्यांक, रोपाइँ आँकडा, सिँचाइ क्षेत्रफलमा भएको परिवर्तन किसानहरूसँगको अन्तरक्रिया, जमिनको अन्य प्रयोगमा भएको परिवर्तनलाई आधार लिइएको हो । उत्पादकत्व अनुमान गर्दा कृषि कार्यालय/कृषि ज्ञान केन्द्र, स्थानीय तह एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत् गरिएका बाली कटानीका तथ्यांकहरूको आधारमा गरिएको छ । यसरी प्रदेश मन्त्रालयबाट प्राप्त तथ्यांक र मन्त्रालय र इसिमोडको सहकार्यमा तयार गरिएको रिमोट सेन्सिङ २०२५ बाट प्राप्त तथ्यांकसमेतलाई ध्यानमा राखी प्रदेश मन्त्रालयसमेतको सहभागितामा ट्रियाङ्गुलेस एवं भ्यालिडेसन गरी धानबालीको तथ्यांक तयार पारिएको मन्त्रालयले जनाएको छ । नेपालको खाद्य सुरक्षाका लागि धानबाली एक महत्वपूर्ण बाली मानिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषि क्षेत्रको योगदान करिब २५.१६ प्रतिशत रहने अनुमान थियो भने कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिब १२ प्रतिशत रहेको थियो । कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार नेपालमा वार्षिक करिब ५५ लाख टन धान उत्पादन हुने गरेको छ तर मुलुकलाई आत्मनिर्भर हुन करिब ७९ लाख ३७ हजार टन धान चाहिन्छ । चामलका रूपमा खान वार्षिक ६८ लाख ९० हजार टन धान आवश्यक पर्छ भने १० लाख ४७ हजार टन धान अन्य प्रयोजन जस्तै पेय पदार्थ, पशु आहार र बीउका रूपमा प्रयोग भइरहेको छ । नेपालमा वार्षिक करिब चार सय २० लाख लिटर रक्सी बनाइने गरेको र सो उत्पादनको २० प्रतिशत रक्सी चामलबाट बन्ने सरकारी अनुमान छ । धान विश्वको करिब तीन खर्ब पाँच अर्ब जनसंख्याका लागि आधारभूत खाद्यवस्तु एवं शरीरलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनका अनुसार संसारभर करिब १६ करोड २१ लाख हेक्टरमा धान खेती भई सात अर्ब पाँच करोड ५४ लाख टन उत्पादन हुन्छ । कुल उत्पादनमध्ये ९० प्रतिशत उत्पादन तथा खपत एसियाली मुलुकहरूमै हुने गर्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान फलाउने देश चीन हो भने नेपाल धान उत्पादनमा १७औँ स्थानमा पर्छ ।