Redirecting...

प्रदीप सापकोटाको ‘यात्राको लय’ दोस्रो संस्करण सार्वजनिक - sahityapost.com

प्रदीप सापकोटाको ‘यात्राको लय’ दोस्रो संस्करण सार्वजनिक - sahityapost.com
Source: shpt

काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ को दोस्रो संस्करण बुधबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक प्रमोद प्रधान, डा. सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुली तथा स्वयं नियात्राकार सापकोटाले कृतिको सार्वजनिक विमोचन गर्नुभएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गौतमले सापकोटाको नियात्रा सरल, सहज र पाठकलाई डोर्याउँदै लैजाने सामर्थ्ययुक्त रहेको बताउनुभयाे । लेखनमा इमानदारिता अनिवार्य हुने उल्लेख गर्दै उहाँले सापकोटाको नियात्रा लेखनी इमानदार देखिएको टिप्पणी गर्नुभयाे । कृतिमाथि परिचर्चा गर्दै समालोचक प्रमोद प्रधानले ‘यात्राको लय’ द्वन्द्वकालीन समयको यथार्थ चित्रण भएको कृति भएको बताउनुभयाे । उहाँले निजात्मक अनुभूति र जानकारीमूलक तत्वको सन्तुलनका साथ स-साना दृश्यलाई अनुभूतिमय ढंगले प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे । अर्की चर्चाकार डा. सृजना शर्माले कृतिमा विभिन्न यात्राका क्रममा भोगिएका दुःख, पीडा, राष्ट्रियता तथा छिमेकी मुलुकको हेपाहा प्रवृत्तिबारे चर्चा गरिएको बताउनुभयाे । कृतिले पाठकलाई मेची–महाकाली मात्र होइन, सीमापारिको दार्जिलिङसम्म घुमाउने सामर्थ्य राखेको उहाँको भनाइ थियो। साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताउँदै सापकोटा नियात्रासँगै निजात्मक निबन्ध लेखनमा पनि सक्रिय स्रष्टा भएको उल्लेख गर्नुभयाे । लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्ना शिष्यको साहित्यिक यात्राप्रति खुशी व्यक्त गर्दै उहाँको विद्यालय जीवनसम्बन्धी स्मृतिहरू पनि साझा गर्नुभयाे । नियात्राकार सापकोटाले आफू लेख्न मन पराउने व्यक्ति भए पनि मूलतः असल पाठक भएको बताउनुभयाे । कार्यक्रममा नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसँग घुलमिल हुने स्वभावको प्रशंसा गर्दै कृतिको सफलताको कामना गर्नुभयाे । साहित्यकार किशोर पहाडीले सापकोटासँगको चिनजानको प्रसङ्ग प्रस्तुत गर्नुभयाे भने साहित्यिक पत्रकार संघका राधेश्याम लेकालीले सापकोटालाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनेको बताउनुभयाे । भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई परिवारको सदस्यसरह मानेको उल्लेख गर्नुभयाे । कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ ‘रोदन’ले गर्नुभएकाे थियाे भने सहजीकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले राख्नुभएकाे थियाे । ‘यात्राको लय’ भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो। कृतिको मूल्य रु तीन सय रूपियाँ रहेको छ।