रवि लामिछाने, बालेन र कुलमान घिसिङबीच एकतापछि रास्वपाका चुनौती 'महत्त्वाकाङ्क्षा र अहम् व्यवस्थापन' - www.bbc.com
Balen/FB "उनीहरू सबै जना एकसेएक महत्त्वाकाङ्क्षी, एकसेएक अहम् भएका अनि एकसेएक व्यक्तित्व भएका व्यक्तिहरू हुन्। उनीहरूको अहम् व्यवस्थापन नै सबभन्दा गाह्रो विषय बन्न सक्छ," रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ एउटै झण्डामुनि उभिन तयार भएपछि उत्पन्न चुनौतीबारे राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको धारणा यस्तो छ। "कसैलाई अग्रिम प्रधानमन्त्री पद दिइहाल्नुपर्ने, कसैलाई सभापति पद यथावत् राखिरहनुपर्ने, कसैलाई के भन्ने विषयले यो चुनौती देखाइसकेको छ।"सोमवार राजधानी काठमाण्डूको राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तामझामका साथ समायोजन घोषणा सभा गर्यो। तर त्यसमा केही दिनअघि रवि लामिछानेसँग राजनीतिक सहयात्रा गर्न तयार भएका बालेन र कुलमान घिसिङ सहभागी भएको देखिएन। रवि लामिछाने, बालेन र कुलमान घिसिङबीचको एकताका 'सूत्रधार'रवि लामिछाने र बालेन मिल्दा कांग्रेस, एमाले र अन्य राजनीतिक शक्तिले के भने विश्लेषकहरूका अनुसार तीन पक्षको रणनीतिपूर्ण राजनीतिक समायोजनबाट देशको आगामी राजनीतिक दिशाबारे थुप्रै सम्भावनाहरू उत्पन्न भएका छन्।सँगसँगै ती तीन नेताकै कारण आउने दिनमा उक्त शक्तिका सामु उति नै धेरै चुनौती पनि तेर्सिने उनीहरूको आकलन छ।त्रिकोणीय चुनौतीअघिल्लो साता तीव्र गतिमा विकसित घटनाक्रमपछि रवि लामिछाने, बालेन र कुलमान घिसिङ एउटै छानोमुनि बस्न तयार देखिए।त्यसले राजनीतिमा नयाँ विकल्पको खोजीमा रहेकाहरूलाई बलियो आड मिलेको ठानिएको छ। तर तीन नेताका महत्त्वाकाङ्क्षा एकआपसमा जुध्न सक्ने अनुमान पनि गरिएका छन्।"नेतृत्वमा महत्त्वाकाङ्क्षा जुध्ने नेपालमा नौलो विषय होइन। धेरै गठबन्धन र एकता टुटेका पनि छन् तर जनमानसले चाहिँ विगतभन्दा यो भिन्न होस् भन्ने अपेक्षा राखेको पाइन्छ," चुनावअघि एकीकरण र गठबन्धनको चरणमा यस्तो मिलन हुनु स्वाभाविकै भएको विश्लेषण गर्दै त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागकी पूर्वप्रमुख प्राध्यापक मीना वैद्य मल्लले बताइन्।अर्का विश्लेषक राजेन्द्र महर्जन यो 'एकता'का सामु थुप्रै समस्या आइपर्ने देख्छन्।"जसरी उनीहरूले महत्त्वाकाङ्क्षी मानिसहरू बटुल्दै छन्, त्यसले ती मानिसहरू एक ठाउँमा आउने जस्तो मात्र हुने हो कि साँच्चिकै एउटा पार्टी र एउटा विचारको रूपमा विकसित हुन्छन् भन्ने सबभन्दा महत्त्वपूर्ण चुनौती हो," उनले भने।"यत्तिकै सहजै अघि बढ्ला भन्नेबारे थुप्रै प्रश्न छ किनभने कतिखेर कुन कुरा नमिल्दा कसको अहङ्काकारले कसलाई धकेल्छ र छताछुल्ल हुन्छ भन्न सकिन्न।" Kulman Ghising/FB वैकल्पिक शक्ति कि मूलधार नै?केही महिनाअघि रास्वपा त्यागेकी सुमना श्रेष्ठ तीन नेता एक ठाउँमा आउँदा अनि पुराना पार्टीसँगको 'वितृष्णा'का माझ अब यो शक्ति वैकल्पिक मात्र नभईकन मूलधारको बन्ने ठान्छिन्।"तर केका निम्ति भन्ने स्पष्टता दिन सकेन भने वैकल्पिक रहने छैन। तीन जना नेताको बारेमा भन्नुपर्दा उनीहरूले देशलाई प्राथमिकतामा राख्नुपर्छ। कसैको पनि व्यक्तिगत महत्त्वाकाङ्क्षा देशभन्दा ठूलो हुँदैन, हुनु हुँदैन," श्रेष्ठले भनिन्।पार्टीका मुद्दा र उद्देश्यबारे स्पष्टता नभइकन नेताहरूको मात्र एकताले समाधान नदिने उनले बताइन्।रास्वपाका प्रवक्ता मनिष झा अहिलेको एकताले पार्टीलाई विशिष्ट फाइदा हुने ठान्छन्।"तीन जना नेताका आआफ्नै बलिया पक्षहरू छन् जसले एकअर्कालाई झन् बल पुग्छ। एकजना नेपालकै सबभन्दा प्रख्यात सार्वजनिक अनुहार हुनुहुन्छ। अर्को नेपालको अहिलेसम्मकै सबभन्दा प्रभावशाली अभियानकर्ता हुनुहुन्छ। अनि अर्को चाहिँ नेपालकै सबभन्दा कुशल व्यवस्थापक हुनुहुन्छ। तीनै जनाको पृष्ठभूमि प्रमाणित छ," झाले बताए।तीन जनाको महत्त्वाकाङ्क्षाका कारण कलह बढ्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले फुटबल खेलमा हुने तालमेलको उदाहरण दिँदै भने, "हामीले टोलीमा तीन स्ट्राइकर मात्र राखेका होइनौँ। हामीले स्ट्राइकर, डिफेन्डर अनि गोलरक्षक राख्दा समग्र टोली नै बलियो हुन्छ।"मोर्चाबन्दी कि पार्टी निर्माण?तत्कालीन एकतालाई एकीकृत पार्टी निर्माण भनिहाल्ने बेला नआएको विश्लेषक राजेन्द्र महर्जन ठान्छन्।"अहिले चुनावको मुखमा यो मोर्चाबन्दीको चरणमा रहेको मलाई लाग्छ। विषयवस्तु एकदम तरल छ। उनीहरूमाझ पद, अहङ्कार र वैचारिक द्वन्द्व काफी देखिन्छ," उनले भने।तर चुनावले उनीहरूलाई आफ्ना जनाधार थाहा पाउन तथा राजनीतिक रूपमा विकसित हुन अवसर दिने पनि उनले बताए।प्राध्यापक मीना वैद्य मल्ल नयाँ पार्टी निर्माणलाई नेपालको पछिल्लो राजनीतिक विकासक्रममा सकारात्मक पाटो ठान्छिन्।"आआफ्ना स्वार्थ पन्छाएर देश र नागरिकको हितमा आउने हो भने यो एउटा राम्रो उदाहरण बन्न सक्छ। यसले चुनावमा मत विभाजन कम गराउँछ र राजनीतिक स्थायित्वको निम्ति उपयोगी हुन सक्छ। समन्वय र विश्वास कायम गर्न सके उनीहरूका लागि यो जत्तिको राम्रो अवसर आउँदैन," उनले भनिन्। बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार, रवि लामिछानेको पार्टीसँग एकता कसरी हुन्छदलीय राजनीतिमा फड्को मार्न बालेनको गृहकार्य पुरानाको गठबन्धन चर्चा Getty Images/EPA नयाँ भनिएका दलले एकता र समायोजन थालिरहँदा पुराना भनिएका कांग्रेस तथा एमाले सहितका दलहरूले पनि चुनावी तालमेलका प्रसङ्ग उप्काउन थालिसकेका छन्।त्यसलाई पनि राजनीतिक विश्लेषकहरू स्वाभाविक नै ठान्छन्।"पुराना दलहरूबीच चुनावी तालमेल नयाँ कुरा होइन। तर यदि उनीहरूले नयाँ दलहरूले प्रस्तुत गरिरहेको चुनौती अनुभूति गरेका हुन् भने चाहिँ त्यसलाई राम्रै अर्थमा लिनुपर्छ। त्यस्तो अनुभूति कति वास्तविक र कति गहिरो भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ," महर्जनले भने।राजनीतिक संस्कारको अभावमा विगतमा यस्ता गठबन्धन लहडको आधारमा गरिएको उदाहरण बिर्सन नहुने पनि उनले बताए।प्राध्यापक मीना वैद्य मल्लले साझा मुद्दाका आधारमा गरिने गठबन्धन कारगर हुन सक्ने बताइन्।"यसका राम्रा र नराम्रा दुवै पक्ष देखिन्छ। बलियो सरकार बन्न सक्छ जसले निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न सक्छ। फेरि आन्तरिक असमझदारी बढ्दै गयो भने त्यहीँभित्र विवाद उत्पन्न भएर निष्प्रभावी हुने जोखिम पनि रहन्छ।"रास्वपाकी पूर्वनेत्री सुमना श्रेष्ठ चुनावअघि पुराना दलहरूले गर्न खोजेको ठानिएको तालमेललाई 'राजनीतिक भ्रष्टाचार' ठान्छिन्।"सायद आफ्नो दलको अस्तित्वका निम्ति उनीहरूले त्यसो गर्लान् तर त्यो देशको निम्ति भलो हुने काम होइन। विचार मिलेको हो भने एकता गरे भइहाल्छ। नत्र भने फरकफरक चुनाव चिह्न तर तालमेल गर्ने हो भने चाहिँ ठिक होइन," श्रेष्ठले भनिन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।