कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास - kendrabindu.com
चितवन। चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गरे । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको शुभारम्भ गरेका हुन् । नगरप्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह गर्नुभयो । यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटो विस्तारै बन्दै जाने उहाँको भनाइ छ । नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकका लागि पालिकाको रु एक करोड ८० लाख र प्रदेश सरकारको रु एक करोड २० लाख गरी रु तीन करोडको बजेटमा जीएराम माता कङ्कालीनी जेभीले रु दुई करोड तीन लाख ९० हजारमा ठेक्का सकारेको हो । विसं २०८२ मङ्सिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो ।