पाँच दशकदेखि सहकार्य गरेको स्मरण गर्दै खनालले भने : माधवले मलाई पार्टी छाड्न आदेश दिए - nagariknews.nagariknetwork.com
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको वैचारिक सङ्घर्षलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।काठमाडौं शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको महाधिवेशनबाट पारित भएको समाजवादको वैचारिक नीति तथा कार्यक्रम हालसम्म नेतृत्वतहले ल्याउन नसकेको बताए। महाधिवेशनबाट अनुमोदित दस्ताबेज वङ्ग्याएर प्रकाशित गरिएकाले सैद्धान्तिक विषय ओझेलमा परेको उनको भनाइ छ।पार्टीभित्र देखिएका समस्याबारे सचिवालयदेखि स्थायी समितिसम्म छलफल गर्नुपर्नेमा नेता खनालले जोड दिए। उनले भने, 'पार्टीभित्रको वैचारिक सङ्घर्षलाई छलफलमार्फ सम्बोधन गर्नुपर्छ। पार्टीको बैठकमा समस्या समाधानका विकल्पहरू खोज्नुपर्छ।'पार्टी अध्यक्ष माधव नेपालसँग करिब पाँच दशकदेखि सहकार्य गरेको स्मरण गर्दै नेता खनालले भने, 'उहाँले मलाई पार्टी छाड्न आदेश दिनुभएछ, आफू र अध्यक्षबीचको विवाद व्यक्तिगत नभइ वैचारिक र सैद्धान्तिक हो। एमालेबाट विद्रोह गरेको चार वर्ष हुँदा पनि औचित्य स्थापित गर्न नसक्दा कार्यकर्तामाझ निराशा छाएकाले वैचारिक र सैद्धान्तिक स्पष्टता जरुरी छ।'दक्षिणपन्थी अवसरवादविरुद्ध क्रियाशील रहने गरी समाजवादी पार्टी बनाउने उद्देश्यले एमालेबाट अलग भएको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले चार वर्षमा नेतृत्वले दक्षिणपन्थी अवसरवाद परिभाषित गर्न नसक्नु दुःखद विषय भएको उल्लेख गरे।केही दिनअघि नेता खनालले एकीकृत समाजवादी गठनको औचित्य पुष्टि गर्न नसके एमाले विभाजन गलत सावित हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो।