Redirecting...

वर्षाले कपिलवस्तुका कृषकमा छायो खुसीको लहर, भन्छन्- हाम्रो लागि अमृत वर्षा भयो - nagariknews.nagariknetwork.com

वर्षाले कपिलवस्तुका कृषकमा छायो खुसीको लहर, भन्छन्- हाम्रो लागि अमृत वर्षा भयो - nagariknews.nagariknetwork.com
Source: ngrk

लामो खडेरीले दुखी बनेका कपिलवस्तुका कृषकहरू आइतबार बिहानदेखि पानी परेपछि हर्षित बनेका छन्। पानी नपर्दा रोपेको धान सुक्न थालेको थियो। खेतमा धाँजा समेत परेको थियो। आइतबारको वर्षाले कृषकहरूमा खुशीको लहर छाएको छ। आइतबार साँझसम्म पनि वर्षा भइरहेको छ। नेपाल कृषक महासंघ कपिलवस्तुका सचिव बालगोविन्द त्रिपाठीले पानी नपर्दा कृषकहरू निराश भएको बेला आइतबारको वर्षाले कृषकहरूलाई धेरै खुशी बनाएको बताए। ‘अन्नको भण्डारको रूपमा चिनिएको जिल्लामा वर्षा नहुँदा कृषकहरू खडेरीमा मारमा परेका थिए, अहिलेको वर्षाले खुशी फर्किएको छ,’ उनले भने।‘कृषकहरूका लागि यो वर्षा अमृत वर्षा समान बनेको छ,’ उनले भने। ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये कपिलवस्तुका ४० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सेवा उपलब्ध छ। जसमध्ये २० प्रतिशतभन्दा कम क्षेत्रफलमा मात्र १२ महिने सिँचाइ सेवा उपलब्ध छ। कृषकहरू वर्षाकै भरमा खेतीकिसानी गर्न बाध्य छन्। जिल्लामा ६५ हजार ८६१ हेक्टर जग्गाको क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ। वर्षापछि अहिले पनि कपिलवस्तुको महाराजगञ्ज र कृष्णनगरमा रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले बताए। ९५ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको र अझै ३ हजार हेक्टरमा रोपाइँ गर्न बाँकी रहेको बताए। समयमै पानी नपर्दा उत्पादन १५ देखि २० प्रतिशतले घट्ने अनुमान गरेकोमा वर्षाले केही राहत दिएको बताए। लामो खडेरीले गर्दा जिल्ला विपद् व्यवस्थापन समितिले गत साउन १३ गते कपिलवस्तुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेर पठाएको छ। यस्तै जसपा नेपाल र नेपाल कृषक महासंघले जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणाको माग समेत गरेका छन्।