Redirecting...

गगन-विश्वप्रकाशकाे कदमले कांग्रेसमा हलचल, के गर्दैछ संस्थापन ? - www.sutranews.com

गगन-विश्वप्रकाशकाे कदमले कांग्रेसमा हलचल, के गर्दैछ संस्थापन ? - www.sutranews.com
Source: sutr

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न हुन नसक्ने निष्कर्षसहित त्यसको प्रक्रिया स्थगित गरेका छन् । महामन्त्रीद्वयले बिहीबार सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले तय गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी हाललाई स्थगित गरिएको जनाइएको हाे । ‘पुस २७ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएकाे छ, ‘उत्पन्न भएको यस्तो अन्याैल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौँ ।’ नियमित महाधिवेशनकाे प्रक्रिया स्थगन गरेसँगै विकल्पमा उनीहरूले विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ ।’ विशेष महाधिवेशनकाे सन्दर्भमा निर्णय गर्नु पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी भएको महामन्त्रीद्वयकाे तर्क छ । विज्ञप्तिमा भनिएकाे छ, ‘पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो । उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ ।’ यद्यपि महामन्त्रीद्वयले विज्ञप्तिमा विशेष महाधिवेशनको मिति ताेकेकाे छैनन् । तर, विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुक गरिसकेको विषय बाहिरिएकाे छ । महामन्त्रीद्वयले आफूहरूले आह्वान गरेको विशेष महाधिवेशन औपचारिक नहुने बुझेरै दबाब सिर्जना गर्ने रणनीति लिएको उनीहरू निकट नेताहरूको भनाइ छ । सोही रणनीतिअनुसार पुस १९ गते बिहानसम्म सभापति शेरबहादुर देउवाको निर्णय पर्खने तयारी गरिएको बताइन्छ । महामन्त्रीद्वयकाे कदमलाई स्वीकार नगर्ने महामन्त्रीद्वयकाे यस कदमपछि कांग्रेसभित्र ठूलाे विवाद र अन्याेलता सिर्जना भएकाे छ । तर, संस्थापन पक्षले महामन्त्रीद्वयकाे कदमलाई पार्टी फुटाउने खेलकाे रूपमा अर्थाएकाे छ । जसलाई मान्यता नदिने तर्क संस्थापन पक्षकाे छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका अनुसार केन्द्रीय कार्यसमितिको निर्णय न त महामन्त्रीद्वयले, न त सभापति शेरबहादुर देउवाले नै एकल रूपमा उल्ट्याउन सक्छन् । उनले केन्द्रीय समितिबाट स्वीकृत १५औँ महाधिवेशनको कार्यतालिका महामन्त्रीहरूले एकल रूपमा रोक्न नसक्ने बताएका छन् । “महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्धारण गरेको हो । त्यसलाई महामन्त्रीले कसरी स्थगित गर्न सक्छन् ?”, यादवले भनेका छन्, “केन्द्रीय समिति बैठकको निर्णय परिवर्तन गर्न त्यसै निकाय वा त्यसभन्दा माथिल्लो निकायको निर्णय आवश्यक पर्छ ।” यादवले महामन्त्रीद्वयले चालेकाे कदम पार्टीको संस्थागत निर्णय नभई सम्बन्धित नेताहरूको व्यक्तिगत मत मात्र हो । त्यस्ताे कदमले पार्टी विभाजन मात्रै हुने तर्क उनकाे छ । कांग्रेस प्रचार विभाग प्रमुखसमेत रहेका नेता मीन विश्वकर्मा पनि महामन्त्रीद्वयकाे कदमले वैधानिक मान्यता नपाउने तर्क गर्छन् । “केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयविरुद्ध आह्वान गरिएको महाधिवेशन न त राजनीतिक रूपमा मान्य हुन्छ, न त औपचारिक नै,” उनले भनेका छन्, “त्यस्तो महाधिवेशन विद्रोही प्रकृतिको हुन्छ ।” उनले पार्टीभित्र देखिएका सबै विवादहरू संवादमार्फत समाधान हुने विश्वाससमेत व्यक्त गरेका छन् । महामन्त्रीद्वय पनि संवादबाट भाग्न नमिल्ने विश्वकर्माकाे तर्क छ । हुन पनि संस्थापनकाे तर्क कांग्रेसकाे पार्टी विधान सम्मत देखिन्छ । कांग्रेसकाे विधानअनुसार महाधिवेशन र महासमितिपछिको सर्वोच्च कार्यकारी निकाय केन्द्रीय समिति हो । केन्द्रीय समितिको निर्णय संशोधन वा उल्ट्याउने अधिकार पनि केन्द्रीय समिति, महासमिति वा महाधिवेशनलाई मात्रै हुन्छ । तर, असन्तुष्टीहरूलाई विधानबाट मात्रै सम्बाेधन गर्न सकिन्न । महामन्त्रीद्वयकाे कदमसँगै सभापति शेरबहादुर देउवाले संस्थागत निर्णय लिन कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन् । जसले महामन्त्रीद्वयकाे कदमलाई कसरी हेर्ने भन्ने निर्णय लिने अपेक्षा नेताहरूकाे छ ।