Redirecting...

लुम्बिनी एनपिएल दोस्रो संस्करणको च्याम्पियन - ehimalayatimes.com

लुम्बिनी एनपिएल दोस्रो संस्करणको च्याम्पियन - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनीले ६ विकेटको विजय निकाल्यो । टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपिएलमा पहिलोपटक १०० रन कटाउन असफल रह्यो । एनपिएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो । दिनेश अधिकारीले पहिलो ओभरमै चार छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा नौ ओभरमै लक्ष्य पूरा गर्‍यो । लुम्बिनी पहिलोपटक विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको हो । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । गत सिजन अंक तालिकाको पुछारमा रहेको र बाहिरिने पहिलो टोली बनेको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि जित्न सफल भएको हो । यो सिजन पनि लुम्बिनी कुनै समय बाहिरिने संघारमा थियो । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा हारेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमाडौंसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिमसँग सात विकेटको पराजय भोगेको थियो । त्यसपछि एक हारले उसको यात्रा सकिने अवस्था थियो । तर, उसले त्यसपछि लिग चरणमा पोखरालाई तीन विकेट, विराटनगरलाई पाँच विकेट र जनकपुरलाई चार विकेटले पराजित गरेर अंक तालिकामा चौथो बनेर प्लेअफमा स्थान बनायो । एलिमिनेटरमा लुम्बिनीले काठमाडौंलाई चार विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो । यस्तै, दोस्रो क्वालिफायरमा पनि उसले विराटनगरलाई ४० रनले हराएर फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पनि सुदूरपश्चिममाथि जित निकालेर उपाधि जितेर एउटा उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले लगातार तीन खेलको पराजयपछि लगातार ६ खेलमा जित निकाल्दै उपाधि जित्यो । लुम्बिनीको सहज जितशनिबार उपाधि जित्ने क्रममा लुम्बिनीले सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य ४ विकेटको क्षतिमा ९ ओभरमा पूरा ग¥यो । लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले ४२ रन जोड्नुभयो । पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई चार छक्का प्रहार गरेका अधिकारीले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्नुभयो । आक्रामक सुरुवात गरेको लुम्बिनीले अधिकारीको ब्याटिङमा पहिलो ओभरमै ऐरीविरुद्ध २७ रन जोडेको थियो । उहाँ पाँचौँ ओभरमा हेमन्त धामीको बलमा स्कट कुगेइलिनबाट क्याच हुनुभयो । अर्का ओपरन डार्शी शर्टले धामीबाट बोल्ड हुनुअघि १४ रन बनाउनुभयो । उहाँले १३ बलमा तीन चौका प्रहार गर्नुभयो । उहाँ दिनेश अधिकारी आउट भएको दुई बलअघि आउट हुनुभएको थियो । दीपेन्द्रसिंह ऐरीले नवौँ ओभरमा दुई विकेट लिनुभएको थियो । उहाँले लुम्बिनीका कप्तान रोहितकुमार पौडेललाई १६ रन र सन्दीप जोरालाई शून्यमा आउट गर्नुभएको थियो । तर, यो विकेटमा सुदूरपश्चिमले खुसी मनाउन सकेन किनकि त्यतिबेला लुम्बिनी जितनजिक पुगिसकेको थियो । बलिङमा हेमन्त र ऐरीले दुई–दुई विकेट लिनुभयो । सुदूरपश्चिमको खराब प्रदर्शनटस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ ग¥यो । जसकारण सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट हुन बाध्य भयो । लगातार विकेट गुमाएको सुदूरपश्चिमविरुद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गर्नुभयो । रोहितको ह्याट्रिकसँगै सुदूरपश्चिम संकटमा परेको थियो । रोहितले ११औँ ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गर्नुभएको थियो । यो सिजनको दोस्रो ह्याट्रिक हो । यसअघि काठमाडौं गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गर्नुभएको थियो । रोहितले ११औँ ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराउनुभयो । दीपेन्द्रले २० बलमा १३ रन जोड्न सक्नुभयो । पाँचौँ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गर्नुभयो । छैटौँ बलमा पुनित मेहरा रोहितको एलबिडब्लुको धरापमा पर्नुभयो । रोहितले ह्याट्रिक गरेसँगै सुदूरपश्चिमले ११ ओभरमा ४४ रन जोड्दा ६ विकेट गुमाएको थियो । यस्तै, उसले १४ ओभर चल्दै गर्दा ५० रन पूरा गर्न सकेको थियो । लगातार विकेट गुमाएको सुदूरपश्चिमले सातौँ विकेट १५औँ ओभरमा गुमायो । उसका हर्मित सिंह १० रन बनाएर आउट हुनुभयो । १५औँ ओभरको तेस्रो बलमा शेर मल्ललाई छक्का प्रहार गर्नुभएका उहाँ अर्को बलमा डार्शी शर्टबाट क्याच हुनुभयो । सुदूरपश्चिमका लागि सर्वाधिक रन प्रहार गर्नुभएका इसान पाण्डेले ३३ रन बनाउनुभयो । शनिबार ओपनिङमा आउनुभएका पाण्डेले ५१ बल खेल्दा एक चौका मात्र प्रहार गर्न सक्नुभयो । १७औँ ओभरसम्म टिक्नुभएका उहाँ यो ओभरको तेस्रो बलमा आउट हुनुभएको थियो । उहाँलाई लुम्बिनीका शेर मल्लले मोबिन सुभसिंहबाट क्याच गराउनुभएको थियो । त्यसअघि सुदूरपश्चिम पहिलो ओभरमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । उहाँ ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्या हुँदा डकआउट भएर पेभिलियन फर्किनुभयो । तेस्रो ओभरमा ट्रम्पलम्यानले अर्को विकेट लियो । उहाँले भारतीय ब्याटर सेल्डन ज्याकसनलाई एक रनमै एलबिडब्लुको धरापमा पार्नुभयो । रोहितले जिते कारच्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाउनुभएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वोत्कृष्ट नेपाली खेलाडी भएवापत उहाँलाई कार पुरस्कार दिइएको हो । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाउनुभएको छ भने १० विकेट लिनुभएको छ । फाइनल खेलमा उहाँले ह्याट्रिक विकेट लिनुभयो । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहनुभएका उहाँ विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौँ स्थानमा रहनुभयो । यस्तै, रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित हुनुभएको छ । उहाँले १७ विकेट लिनुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित हुनुभएको छ । १५ विकेट लिनुभएका उहाँले पाँच लाख रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने हुनुभयो । उहाँले पनि पल्सर बाइक प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित हुनुभएको छ । उहाँले पनि पल्सर बाइक प्राप्त गर्नुभएको छ । लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित हुनुभएको छ । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित हुनुभएको छ । उहाँले पल्सर बाइक प्राप्त गर्नुभएको छ । फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित हुनुभएको छ ।