जेनजी आन्दोलनमा आतङ्कवादको सुरुआत भयो, दोहोरिन थाले देश ठूलो दुर्घटनातर्फ जानसक्छ : आइजीपी खापुङ - janatatimes.com
काठमाडौं, कात्तिक २१। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले राजनीतिक आन्दोलनका नाममा व्यक्तिगत सम्पत्तिमाथि गरिने आक्रमण, आगजनी र लुटपाटजस्ता घटनाले नेपालमा ‘आतङ्कवादको अभ्यास’ बढाइरहेको तथ्य उजागर गरेको निश्कर्ष सुनाउनु भएको छ । भदौ २३ र २४ गतेका घटनामा प्रहरीलाई दोहोरो दबाबमा पार्ने प्रयास गरिएको भन्दै पछिल्ला प्रदर्शन र तोडफोडका गतिविधिले राज्य सुरक्षालाई गम्भीर जोखिममा पारेको आइजीपी खापुङको निश्कर्ष छ । ‘राजनीतिक आन्दोलनका क्रममा व्यक्तिको निजी सम्पत्तिमाथि प्रहार हुनु भनेको आतङ्कवादको नमूना हो, यस्तो आक्रमणलाई सामान्य भन्न सकिँदैन, जब तपाईँको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन भने त्यो आतङ्कवादको सुरुआत हो,’ आइजीपी खापुङले भन्नुभयो । आईजीपी खापुङका अनुसार प्रदर्शनका क्रममा राज्य र नागरिक दुवैको सम्पत्तिमा आक्रमण हुनु नेपालमा उग्रपन्थी सोच बढ्दै गएको सङ्केत हो । उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘यदि यो क्रम नियमित रूपमा दोहोरिन थाल्यो भने देश ठूला दुर्घटनातर्फ जान सक्छ ।’ ‘आजकल सोसल मिडियाबाट मानिसको दिमागमा विध्वंसको बारुद भरिँदै छ । यस्ता प्रवृत्तिले समाजमा घृणा, हिंसा र असहिष्णुता बढाउँछ । त्यसैले सबै नागरिकले संयमित भएर देशलाई अगाडि राख्नुपर्ने समय आएको छ,’ आइजीपी खापुङले भन्नुभयो । सोसल मिडियाको अनियन्त्रित प्रयोगले पनि सामाजिक सहिष्णुता कमजोर बन्दै गएको पनि आइजीपीको तर्क छ । ‘आजकल सोसल मिडियाबाट मानिसको दिमागमा विध्वंसको बारुद भरिँदै छ । यस्ता प्रवृत्तिले समाजमा घृणा, हिंसा र असहिष्णुता बढाउँछ । त्यसैले सबै नागरिकले संयमित भएर देशलाई अगाडि राख्नुपर्ने समय आएको छ,’ आइजीपी खापुङले भन्नुभयो । उहाँले राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यम सबैले आफ्नो जिम्मेवारी र मर्यादाभित्र रहेर राष्ट्रिय एकता र सामाजिक शान्तिको संरक्षण गर्न आग्रह गर्नुभयो । आईजीपी खापुङले आन्दोलन लोकतान्त्रिक अधिकार भए पनि त्यसले नागरिक अधिकार, कानुनी सिमाना र सार्वजनिक सम्पत्तिको सुरक्षा तोड्न नहुने स्पष्ट सन्देश दिनुभएको छ ।