राष्ट्रिय सभामा तालमेल गर्ने कांग्रेसको आधिकारिक निर्णय - nagariknews.nagariknetwork.com
Source: ngrk
नेपाली कांग्रेसको कार्यसम्पादन समितिले राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने आधिकारिक निर्णय गरेको छ। मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ। यस्तै उम्मेदवार छनोटका लागि भने बुधवार बिहान ९ बजे पुनः कार्यसम्पादन समितिको बैठक बस्ने भनिएको छ। कांग्रेसले आधिकारिक निर्णय गर्नुअघि नै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग मिलेर जाने गरी सहमति जुटाइसकेको छ। १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेस–एमालेले सात–सात, नेकपाले तीन र जसपा नेपालले एक सिट लिनेगरी मोटामोटी सहमति जुटेको बताइन्छ।