Redirecting...

अब किसानका लागि कृषि एम्बुलेन्स, बारी बाटै ढुवानी हुने - ehimalayatimes.com

अब किसानका लागि कृषि एम्बुलेन्स, बारी बाटै ढुवानी हुने - ehimalayatimes.com
Source: hmlt

बागलुङ । बागलुङमा तरकारी उत्पादनकका हिसाबले जैमिनी नगरपालिका अब्बल मानिन्छ । हरेक वर्ष यहाँका किसानले लाखौँको तरकारी विक्री गर्छन् । बजारभन्दा टाढा रहेको हुँदा उनीहरुलाई बजारीकरणमा समस्या छ । उनीहरुको समस्या समाधान गर्नका लागि नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले भदौ महिनादेखि कृषि एम्बुलेन्स संचालन गर्ने तयारी गरेको हो । नगरपालिकामा एम्बुलेन्स आएपछि कृषक उत्साहित भएका छन् । संघीय सरकार र नगरपालिकाको रु २५/२५ लाख गरि कुल रु ५० लाखमा कृषि एम्बुलेन्स खरिद गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । एम्बुलेन्स खरिद गरि नगरपालिकामा ल्याइसकेको र अब केही दिनमै कार्यविधि बनाएर संचालन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । बजार टाढा हुँदा किसानले उत्पादन गरेका वस्तुले उचित मूल्य नपाउने र समयमै बजार नपुग्दा कुहिएर नोक्सना हुने समस्या रहेको उहाँको भनाइ छ । अब किसानलाई बजार र मूल्य नपाइने चिन्ता नहुने शर्मा बताउनुहुन्छ । जैमिनी नगरपालिकामा ५०० वटा कृषि फर्म, कृषि सहकारी र कृषक समूह सक्रिय रहेको भन्दै करिब चार हजार घर परिवार कृषि उत्पादनमा जोडिएको शर्माले जानकारी दिनुभयो । पालिकाभरबाट वार्षिक रु ६० लाख सुन्तला, करिब रु चार करोडको दूध, रु सात करोडको खसीबोका, रु ५० लाखको केरा, रु ७० लाखको मह, रु ४० लाखको अलैची र लाखौ रुपैयाँको तरकारी विक्री हुने उपप्रमुख शर्माको भनाइ छ । कृषि एम्बुलेन्स नहुँदा किसानले उत्पादन गरेका लाखौँ मूल्यका पिँडालु स्कुस, फर्सी, करेला, कुभिन्नो लगायतका वस्तु खेर गइरहेको भन्दै अब उत्पादन बजारमा पठाउने उहाँले बताउनुभयो । कृषि एम्बुलेन्सले किसानका टोल-टोलमै पुगेर ढुवानी गरि बजारमा पुर्‍याउने उपप्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले युवा र किसानलाई व्यवसायक कृषिमा आकर्षित गर्नका लागि अनुदान, तालिम र प्राबिधिक सहयोग गर्दै आएको भन्दै अब बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिने उहाँले सुनाउनुभयो । कृषि एम्बुलेन्समा ढुवानी गरे बापत न्यूनतम शुल्क लिने शर्माको भनाइ छ । “जैमिनीमा धेरै किसानहरु तरकारी र दूध उत्पादन गर्नुहुन्छ, उहाँहरुको मुख्य समस्या बजार र मूल्यको छ, अब एम्बुलेन्स संचालनमा आएपछि उहाँहरुको उक्त समस्या समाधान हुने छ भन्ने अपेक्षा लिएका छौँ,” उपप्रमुख शर्माले भन्नुभयो – “उत्पादन कुहिएर खेर जाने छैन, नगरपालिकाले बजारीकरणका लागि सहजीकरण गर्ने छ, एम्बुलेन्स संचालनका लागि संघीय सरकारले पनि हामीलाई ठूलो मद्दत गरेको छ ।” नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा कुश्मिसेरामा कृषि संकलन केन्द्य निर्माण गरेको छ भने वडा नम्बर ३ को उपल्लो दमेक र वडा नम्बर ४ सर्कुवामा चिस्यान केन्द्र निर्माण गरेको छ । वडा नम्बर ४ का किसान मायादेवी पौडेलले गाउँमा आफूले बर्सेनी दुई क्युन्टल बढीको मह विक्री गनेए गरेको भन्दै बजारमा पु¥याउन नसक्दा उचित मूल्य नपाएको बताउनुभयो । नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गरेपछि मह र तरकारीले मूल्य पाउने आशा पलाएको उहाँको भनाइ छ । पौडेलले भन्नुभयो – “गाउँमा बसेर मेहनत गरेका छौँ, उत्पादन पनि राम्रो हुन्छ तर बजार टाढा भएको हुँदा गाडी लिएर लैजाँदा ढुवानी तिर्दा ठिक्कै हुन्थ्यो, अब नगरपालिकाले एम्बुलेन्स चलायो भने त धेरै सैलियत हुने अपेक्षा लिएको छ, अहिलेसम्म व्यापारीले जति मूल्यमा माग्छ त्यतिमै दिनु पर्ने अवस्था थियो, अब उत्पादनले राम्रो मूल्य पाउने आशा छ ।” वडा नम्बर २ का किसान प्रेम क्षेत्रीले नगरपालिकाले किसानका लागि राम्रो काम गरेको बताउनुभयो । कृषि एम्बुलेन्स संचालनमा आएपछि अब तरकारी र फलफूल खेर जाने समस्या नआउने उहाँको भनाइ छ । अब आफूले पनि उत्पादन बढाउन तर्फ लाग्ने क्षेत्री बताउनुहुन्छ ।