गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने विश्वप्रकाशको घोषणा - bishwokhabar.com
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा होमिने घोषणा गरेका छन् । निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै फेसबुक लाइभमार्फत आफ्नो धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् । उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली बदलेर निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामा जाने बताए । ’पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,’ शर्माले भने, ’महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहना बमोजिम हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ ।’ आयोगको निर्णयले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि देशैभरका कांग्रेस कार्यकर्ताले दीपावली मनाउन सुरु गरेको उल्लेख गर्दै शर्माले यसलाई ’नवीन कांग्रेस’ निर्माणको उत्सवका रूपमा लिन आग्रह गरे । आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी पूर्वको गठबन्धन नगर्ने र एक्लै प्रतिस्पर्धा गर्ने शर्माको भनाइ छ । उनले पार्टीलाई जिताउन आफू स्वयं यस पटक उम्मेदवार नबन्ने र देशभरको चुनावी अभियानको कमाण्ड सम्हाल्ने घोषणा गरे ।