‘ग्लोबल एकाउन्टिङ आउट सोर्सिङ प्रोजेक्ट’ - ehimalayatimes.com
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपाललाई विश्वकै ‘एकाउन्टिङ र फाइनान्स आउट सोर्सिङ हब’ बनाउने उद्देश्यसाथ ‘ग्लोबल एकाउन्टिङ रिसोर्स’ प्रोजेक्ट घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइक्यानले उक्त घोषणा गरेको हो । पत्रकार सम्मेलनमा आइक्यान अध्यक्ष नीलबहादुर सारू मगरले परियोजनामार्फत् आगामी १० वर्षभित्र नेपालले एकाउन्टिङ सेवा निर्यात गरेर वार्षिक छदेखि सात अर्ब डलर अर्थात् करिब नौ खर्ब रुपैयाँ भित्र्याउन सक्ने दाबी गर्नुभयो । विश्व बजारमा देखिएको जनशक्ति अभावलाई नेपालले अवसरका रूपमा लिनुपर्ने भन्दै उहाँले हाल अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता विकसित मुलुकहरूमा एकाउन्टिङ विषय पढ्ने विद्यार्थीको संख्या ३० प्रतिशतभन्दा बढीले घटेको जानकारी दिनुभयो । पश्चिमा देशका युवाहरूको आकर्षण आइटी र एआईतर्फ बढ्दा परम्परागत लेखा व्यवसायमा जनशक्तिको संकट देखिएको उहाँको भनाइ थियो । आइक्यान अध्यक्ष सारू मगरले परियोजनामार्फत् आगामी १० वर्षभित्र नेपालले एकाउन्टिङ सेवा निर्यात गरेर वार्षिक छदेखि सात अर्ब डलर अर्थात् करिब नौ खर्ब रुपैयाँ भित्र्याउन सक्ने दाबी गर्नुभएको छ । अध्यक्ष मगरले फिलिपिन्स र भारतको उदाहरण दिँदै नेपालले पनि सोही बाटो समात्न सक्ने बताउनुभयो । उहाँका अनुसार फिलिपिन्समा एकाउन्टिङ र बिपिओ क्षेत्रबाट ३० अर्ब डलरभन्दा बढी आम्दानी गर्छ, जसले कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको छ र १६ लाखलाई रोजगारी दिएको छ । भारतमा पनि सो क्षेत्रको बजार हिस्सा दुई सय ५० अर्ब डलरभन्दा बढी छ र ५० लाखभन्दा बढी जनशक्ति संलग्न छन् । हाल नेपालका एकाउन्टिङ फर्महरूले अनौपचारिकरूपमै भए पनि वार्षिक तीन करोड डलर अर्थात् तीन अर्ब रुपैयाँभन्दा बढीको सेवा निर्यात गरिरहेका उहाँले बताउनुभयो । परियोजना सफल भएमा नेपालमा डेढ लाखभन्दा बढी उच्च गुणस्तरको रोजगारी सिर्जना हुने भन्दै उहाँले नेपाललाई वैदेशिक रोजगारीमा गएका युवाले पठाउने रेमिट्यान्सले धानेको देशको परिचयबाट बदल्नुपर्ने ‘सर्भिस एक्सपोर्टिङ इकोनोमी’ बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा रहेका करिब १४ लाख एकाउन्टिङका विद्यार्थी र स्नातकलाई उक्त अभियानमा जोड्ने आइक्यानको योजना छ । जसका लागि विदेशी फर्महरूलाई नेपालमा शाखा खोल्न वा साझेदारी गर्न सहज हुने गरी नीतिगत व्यवस्था गरिनुपर्ने पनि आइक्यानले माग गरेको छ ।