सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा - www.hamrokhelkud.com
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का भएको छ। विराटनगर प्ले अफ पुग्ने तेस्रो टोली बनेको छ। जितको लागि १ सय ७० रनको चुनौती पछाएको चितवन १७.१ ओभर मा अल आउट हुँदै १ सय २० रनमा समेटियो। पावर प्लेमा चितवनले ३ विकेट गुमाएर ३६ रन मात्र बनायो। २.३ ओभरमा ६ रन बनाएका ओपनर डविट मलान रन आउट भए। दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटमा मलान आउट भए। अर्का ओपनर अर्जुन साउद पनि मात्र १६ रनमा दीपेन्द्रकै बलमा स्कट कुगेलनद्वारा आउट भए। दुई ओपनर गुमाउँदा चितवनले २३ रन मात्र बनायो। लगत्तै सेफ जेब पनि ६ रनमा पबिलियम फर्किए। उनी हिक्मत महराको बलमा आउट भए। त्यसपछि कप्तान कुशल मल्ल मात्र १५ रनमा आउट भए। उनलाई इशान पाण्डेले आउट गरे। यो खेलमा पनि कुशलको प्रदर्शन कमजोर रहयो। १० ओभरको समाप्तिमा ६४ रन जोडेको थियो। पाँचौं विकेटको रूपमा रवि बोपरा २९ रनमा अभिनाष बोहराको बलमा आउट भए। यो सँगै चितवन दबाबमा आयो। यतिखेर चितवनले ९० रन जोडेको थियो। १५ ओभरमा १ सय ५ रन बनाउँदा चितवनलाई जितको लागि अन्तिम ३० बलबाट ६५ रन आवश्यक थियो। कुनै पनि समय साझेदारी बन्न सकेन। १६ औं ओभरमा चितवनले लगातार ३ विकेट गुमायो। १६ औं ओभरको चौथो बलमा पुनित मेहराले देव खनाललाई २८ रनमा स्टम्पिङ आउट गरे। लगत्तै अर्को बलमा जर्जलाई गोल्डेन डक आउट गरे। यसपछि ह्याट्रिक विकेट लिने दाउमा पुनित थिए। अमर सिंह राउटेला रन आउट भए। पुनितको ह्याट्रिक विकेट भएन। तर टिमले भने ह्याट्रिक विकेट लियो। यसपछि रिजन ढकाल १ रनमा रन आउट भए भने ६ रन बनाएका कमल ऐरी पनि बोल्ड आउट भए। यो सँगै चितवन अल आउट भयो। बलिङमा पुनितले २ ओभर १ बलमा १४ रन दिएर ३ विकेट लिए। दीपेन्द्र, हिक्मत र इशानले १/१ विकेट लिए। त्यसअघि टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदुरले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए। मात्र २ रन जोड्दा जीवनदान पाए। कुशल मल्लले क्याच ड्रप गरे। यी दुईले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। विनोद १७ बलमा २१ रन जोडेर रन्जित कुमारको बलमा आउट भए। पहिलो पावर प्लेमा सुदरले ४६ रन बनायो। यसपछि दोस्रो विकेटको रूपमा इशान पाण्डे मात्र १ रन जोडेर सेफ जेबको बलमा डविट मलानद्वारा क्याच आउट भए। यसपछि क्रिस र पुनितले तेस्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। पुनित १३ रनमा सेफ कै बलमा आउट भए। तेस्रो विकेट गुमाउँदा सुदरले ८७ रन बनाएको थियो। २ रन जोड्दा जीवनदान पाएका लिनले ४२ बल खेल्दै ३ चौका र २ छक्का सहित अर्धशतक बनाए। १० ओभरको समाप्तिमा सुदरले ७१ रन जोडेको थियो। चौथो विकेटको रूपमा हर्मित सिंह जर्ज स्क्रिमसअको बलमा आउट भए। उनी मात्र १ रनमा आउट भए। सुदरले १५ ओभर सकिंदा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। क्रिजमा जमेका क्रिस १७ औं ओभर सकिए लगतै ७५ रन बनाएर रिटायर्ड हर्ट भए। उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। उनी नै सुदरको लागि सर्वाधिक रन जोड्ने खेलाडी बने। बलिङमा सेफ जेबले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए। रन्जित र जर्जले १/१ विकेट लिए। यसअघि साहब आलमको ह्याट्रिक विकेटमा काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गर्न सफल भएको छ। पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदै काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बनेको छ। The post सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा first appeared on हाम्रो खेलकुद.