माहेश्वरी महिला मञ्च विराटनगरकाे आयोजनामा ‘नानी बाई रो मायरो’ कार्यक्रम हुने - kendrabindu.com
काठमाडौं । माहेश्वरी महिला मञ्च, विराटनगरको आयोजनामा विराटनगरमा तीन दिने भव्य धार्मिक कार्यक्रम तथा उत्सव ‘नानी बाई रो मायरो’ आयोजना हुने भएको छ। गोवत्स श्री बिठ्ठल जी महाराजको मुखारबिन्दबाट गोकुलधाम विराटनगरमा यो पावन अनुष्ठान आयोजना हुने भएकाे हाे । यस अवसरमा गोवत्स श्री बिठ्ठल जी महाराजद्वारा मारवाडी भाषामा रसिलो कथा प्रवचन, भजन-कीर्तन तथा आध्यात्मिक प्रवचन हुनेछ। ‘नानी बाई रो मायरो’ कथा भक्त नरसी मेहता र उनकी छोरी नानी बाईको अटुट श्रद्धा र भगवान् श्रीकृष्णले आफ्ना भक्तको लाज जोगाउन ‘मायरा’ (भात) भर्न आएको प्रेरणादायी प्रसंगमा आधारित छ। कार्यक्रमको पहिलो दिन २०८३ पौष १ गते (डिसेम्बर १६, २०२५) बिहान ठिक १ बजे श्री रामजानकी मन्दिरबाट भव्य शोभायात्रा (कलश यात्रा) को आरम्भ हुने आयोजकले जानकारी गराएको छ। माहेश्वरी महिला मञ्च, विराटनगरले समस्त भक्तजनलाई परिवारसहित बढीभन्दा बढी संख्यामा सहभागी भई आध्यात्मिक लाभ उठाउन र यस अनुष्ठानलाई सफल पारेर विराटनगरको धार्मिक संस्कृतिलाई थप स्थापित गर्न अनुरोध गरेको छ।