माधव–झलनाथ वाकयुद्धले नेकपा एसको आन्तरीक विवाद छताछुल्ल,पार्टी विभाजनको औचित्य पुष्टि गर्नै नसकि फुटतर्फ उन्मुख (खासखबर) - nepalinetwork.com
काठमाडौं। नेकपा एमालेबाट विभाजन भएर गठन भएको नयाँ पार्टी नेकपा एस यतिबेला आँफै आन्तरीक विवादको घेरामा पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीसँगको द्वन्दले पूर्वअध्यक्षहरु माधव कुमार नेपाल तथा झलनाथ खनाललगाएतले २०७८ भदौं २ गते एमाले फुटाएर नेकपा एस गठन गरेका थिए। जसको नेतृत्वमा अर्थात अध्यक्षमा नेपाल र सम्मानित नेतामा खनाल रहेका छन्। एमाले फुटाएर नयाँ पार्टी स्थापना गरेपनि पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेका यी दुई नेताबिचकै वाकयुद्धले अहिले पार्टी स्थापनाको ४ वर्ष नपुग्दै पुनः विभाजनको डिलतर्फ उन्मुख बनाएको देखिन्छ। खासगरी नेकपा एस स्थापनालगत्तै भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगाएत अन्य ४/५ दलसँग गठबन्धन गरेर चुनावमा होमिँदा पनि पार्टी स्थापनाको औचित्य पुष्टि गर्न नसक्दा स्वयं नेता खनाल नै पराजित बन्न पुग्नु भएको थियो भने पार्टीले राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी लज्जास्पद नतिजा भोगेको थियो। त्यसयता असन्तुष्ट बनेका नेता कार्यकर्ता एमालेमै फर्किने तथा पार्टी छाड्ने क्रम तिब्र जारी छ। भने स्वयं खनालमा पनि असन्तुष्टी नै देखिन्छ। सोहीअनुसार खनालले पनि बेलाबेलामा अन्तर्वार्ता तथा विभिन्न अभिव्यक्तिहरुमा पनि एमालेबाट पार्टी विभाजन गर्न गल्ति भएको र अझै पनि एमालेमै पार्टी एकता गर्नुपर्ने बताउँदै आउनुभएको छ।खनालको यो विचारमा केही अन्य नेता कार्यकर्ता तथा पार्टी पदाधीकारी पनि सहमत नै देखिन्छन्। अर्कातिर यतिबेला अध्यक्ष नेपाल पनि यतिबेला पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेको अवस्था छ। अख्तियारले यो मुद्दा दायर गरेपछी अहिले नेपालमाथी पार्टीको नेतृत्व छाड्नुपर्ने दवाब पनि बढ्दै गएको छ। केही समय अगाडी पार्टी नेतृ रामकुमारी झाँक्रिले पार्टीको नेतृत्वमाथी भ्रष्टाचारजस्तो गभ्रि आरोप लागेकोले अन्य नेता कार्यकर्ताले टाउकामा कुहिएको सिनो बोकेर हिड्न नसक्ने भन्दै कि नेपालले नेतृत्व छाड्नुपर्ने नत्र अर्लि महाधिवेशनमा जानुपर्ने बताएपछी पार्टीभित्र तरङ्ग नै ल्याएको थियो भने झाँक्रिलाई पार्टीबाटै निकाल्नेसम्मको तयारी भएको थियो। यतिबेला खनालले पनि एक टेलिभिजन अन्तर्वार्तामा नेपालको कार्यशैलीकोसमेत आलोचना गर्दै आरोप लागेपछी मार्ग प्रशस्त गर्नुपर्नेमा नेपालले त्यसो नगरेको भन्दै एमालेबाट पार्टी फुटाउनु पनि गलत भएकोले अझैपनि एमालेमै फर्किनुपर्ने बताउनु भएको थियो, सँगै उहाँले पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेको आत्मालोचना गर्नुभएको थियो। खनालको यस्तो अभिव्यक्तिपछी अध्यक्ष नेपाल यतिबेला आक्रोशित देखिनु भएको छ। आक्रोशित नेपालले हिजो नै खनाललाई जवाफ फर्काउँदै पार्टी छोडेर जान चेतावनी दिनुभएको छ। जसले नेकपा एसभित्रको विवाद छताछुल्ल हुनेगरी बाहिर ल्याइदिएको छ। हिजो विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएकाले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेकोले खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिनुभयो। यसअघी पनि पार्टीको नियम उल्लङघन गर्दै आएकोले अब पार्टीबाट बिदा नै गर्नुपर्ने उहाँको अभिव्यक्ति थियो। त्यसलगत्तै फेरी खनालले अध्यक्ष नेपालमाथी जवाफ फर्कासक्नुभएको छ। नेपालको कार्यशैलिमाथी गम्भिर प्रश्न उठाँउदै तानाशाही नबन्न चेतावनी दिनुभएको छ। पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो नहुने र कुनै कुरा चित्त नबुझे पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सक्नुपर्नेमा पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही रहेको आारोप लगाउनुभयो। नेपालको भनाइ अत्यन्तै अशोभनीय,गैरजिम्मेवार एवं तानाशाही प्रवृत्तिको आएको भन्दै उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन,जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्ने? कस्तो तानाशाह बन्न खोजेको हो?’ भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै कसैले राजिनामा माग्दैमा राजिनामा नदिने चेतावनी दिनुभएको छ। नेपालप्रति लक्षित गर्दै उहाँले पार्टी सञ्चालन गर्नसक्ने क्षमता छैन,पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफै बाटो लागे हुन्छ तर म त्यस्तो काम जान्दीन, गर्दिन, खनालको भनाइ छ। दुई शिर्ष नेताहरुबिच नै यसरी वाकयुद्ध सुरु भएपछी यतिबेला पार्टी नै संकटउन्मुख देखिन्छ। अर्कातिर नेता कार्यकर्ता पनि विभाजित हुन थालिसकेको टिप्पणी हुन थालिसकेको छ। यो विषय छलफलको विषय बनेकोले यसलाई पार्टीको आन्तरीक छलफलबाट टुँङ्गो दिनुपर्ने उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो। यो वाकयुद्ध लामो नजाने तर पार्टीभित्र छलफलको विषय भने बनेको भन्दै खतिवडाले दुबै नेताहरुको भनाई र आसय राम्रोसँग बुझेपछी गम्भिर छलफलबाट छिट्टै आवश्यक निर्णय लिइने बताउनुभयो। केहिदिन अघीमात्रै कम्युनिष्ट नेता बामदेव गौतमलाई पार्टीमा प्रवेशपछि दुईशिर्ष नेताहरुबीच भएको यो नयाँ विवादले एकीकृत समाजवादीलाई फेरी चर्चामा ल्याएको छ।बामदेवले पनि पार्टीमा जिम्मेवारी खोजिरहेको,नेपालविरुद्ध लागेको भ्रष्टाचारको मुद्धा र झलनाथले खोलेको फायरले पार्टीलाई नयाँ विवादतर्फ धकेलेको विश्लेषण गरिएको छ। अर्कातिर नेकपा एसभित्रको यो आन्तरीक कलहले पुनः नेपालमा कम्युनिष्ट पार्टी र नेताहरु लामो समय एकैठाउँमा बस्न सक्दैनन् भन्ने आरोपलाई पुष्टि गर्न थप बल पुगेको छ। यदि माधव नेपाल र झलनाथ खनालमा पनि विभाजनको अवस्था आयो भने स्थापनाको औचित्य पुष्टि गर्न नसकेको नेकपा एस थप औचित्यहिन बन्ने देखिन्छ।