आईसीसी लिग–२ : नेपालले दियो यूएईलाई २४० रनको लक्ष्य - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले आयोजक यूएईलाई २४० रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन मात्र बनाउन सक्यो। नेपालका कुनै पनि ब्याट्सम्यानले अर्धशतक पुरा गर्न सकेनन्। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले सातौँ नम्बरमा आएर ४६ रनको महत्वपूर्ण योगदान दिए। यस्तै, आरिफ शेखले ३० रन जोडे। दशौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले १० बलमा १५ रनको आक्रमक प्रदर्शन गर्दै टोलीको स्कोर उकास्न मद्दत गरे। अन्तिम बलमा ललित नारायण राजवंशीले चौका प्रहार गर्दै नेपाललाई २३९ रनसम्म पुर्याए। बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिएका छन्।