चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित - www.pardafas.com
चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन्। भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन्। अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन्। गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताए। उनले सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे। उनले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताए। तीमध्ये केही जिल्लाभित्र कै र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन्। खासगरी वर्खाको समयमा यो रोगको सङ्क्रमण बढी हुने उनले बताए।