‘कुलिङ अफ पिरियड’ छानविन समितिको प्रतिवेदन सोमबार संसदमा पेश हुने - www.pardafas.com
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको छेड्खानीबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले सोमवारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानविन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ । सभापति परियारले समितिलाई प्राप्त चारवटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए । ‘समितिको कामको हामी अन्तिम चरणमा पुगेका छौं । आज हामी म्याद थपिएको सातौं दिनमा छौं । आज साँझसम्म सम्भवतः हामीले प्रतिवेदनलाई अन्तिम रुप दिएर भोलिको सभामा प्रश्तुत गर्ने तयारीमा छौं’ उनले भने । गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा भएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमाथि छानविन गर्न समिति गठन गरेको थियो । प्रारम्भमा समितिलाई २१ दिनको समय दिइएको थियो । उक्त समय साउन ११ गते सकिएपछि समितिले थप ७ दिनको समय पाएको थियो । छानविन गर्न थपिएको म्याद आज सकिँदैछ । समितिमा नेपाली कांग्रेसका सांसद जीवन परियार (सभापति) र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य रहेका छन् ।