राजीनामा दिनुअघि लामाले राखे यस्तो शर्त, देउवा पनि मान्न तयार - www.nepalclicks.com
हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको शर्त पूरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन्। देउवाले आफ्नो शर्त मान्न तयार भएपछि आइतबार लामाले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने भएका हुन्। शनिवार लामाले देउवासँग बुढानीलकण्ठमा कुराकानी गरी आफ्ना शर्त अघि सारेका थिए। लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिनुपर्ने शर्त लामाले राखेका थिए। उक्त शर्त मान्न देउवा तयार भए। आफ्ना शर्त मान्न देउवा नै तयार भएपछि लामा पदत्याग गर्न सहमत भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए। छलफलमा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा भर्खरै चुनिएका इन्द्र बानियाँ पनि उपस्थित थिए। ‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ। सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो।’ आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक राख्ने र त्यसपछी पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्ने उनको भनाइ छ। मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। दलको नेतामा हारेपछि राजीनामा दिन उनीमाथि दबाब बढेको थियो। यसअघि शुक्रबार लामा र देउवाबीच कुराकानी भएको थियो। शनिबार बानियाँ र लामापक्षीय १५ जना सांसद देउवासँगको कुराकानीमा सहभागी थिए। छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताए। उता लामाको संसदीय दलका नेताको पद खुस्किएपछि पनि मन्त्री नियुक्त गरेकाहरुलाई शपथ खुवाउने मिति तोकेपछि एमालेले मन्त्री नियुक्त नगर्न दबाब दिएको थियो। एमालेको दबाबपछि शपथ कार्यक्रम छल्नका लागि काठमाडौँ आएर ग्राण्डी अस्पताल भर्ना भएका दीपक प्रसाद देवकोटा डिस्चार्ज हुन बाँकी छ। मुख्यमन्त्री लामाले राजीनामा बुझाए देवकोटालाई बुझाउन पर्ने हुन्छ। देवकोटाको मूत्रथैलीको सङ्क्रमणको उपचार जारी रहेको अस्पतालले बताएको छ।