अर्चना थापाको पहिलो उपन्यास ‘अग्निगर्भा’ सार्वजनिक - sahityapost.com
काठमाडौँ । साहित्यकार डा. अर्चना थापाको पहिलो उपन्यास ‘अग्निगर्भा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा आयोजित कार्यक्रममा लेखक थापा, उहाँकी आमा अञ्जना सिजापति थापा, समालोचक महेश पौड्याल तथा सञ्चारकर्मी एवं लैङ्गिक सिद्धान्तका अध्येता आरती चटौतले संयुक्त रूपमा उपन्यासको विमोचन गर्नुभएकाे थियाे । विमोचन समारोहमा समालोचक पौड्यालले ‘अग्निगर्भा’ ले भान्साघरसँग गाँसिएको ‘किचन पोलिटिक्स’लाई सहतमा ल्याउँदै लैङ्गिक समानताको बहसलाई नयाँ कोणबाट उठाएको बताउनुभयाे । भान्साघरलाई अधिकार, श्रम, आत्मनिर्भरता र अठोटको परीक्षणस्थलका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले उपन्यासले पुस्तान्तर, पुराना–नयाँ मान्यताबीचको द्वन्द्व र पुरुषकेन्द्रीत संरचनाबाट सिर्जित विभेदका पुल भत्काउने सन्देश दिएको धारणा राख्नुभयाे । समीक्षक चटौतले ‘अग्निगर्भा’ लाई विद्रोहको दस्तावेजका रूपमा व्याख्या गर्नुभयाे । सहर–गाउँ, शिक्षित–अशिक्षित सबै तहमा अझै विद्यमान लैङ्गिक विभेद र पुरुषवादी चिन्तनमाथि उपन्यासले प्रश्न उठाएको भन्दै उहाँले मिथक, कथा र शास्त्रको नाममा कायम विभेदलाई निरन्तरता दिन नहुने आवश्यकता औँल्याउनुभयाे । लेखकीय धारणा राख्दै डा. थापाले अध्ययन र अनुभवबाट बुझेका सम्बन्धका विपर्यासहरू आख्यानमा समेटिएको बताउनुभयाे । नाम र पहिचानबाट वञ्चित महिलाहरूको अस्तित्व–संघर्ष उपन्यासको केन्द्रमा रहेको उहाँको भनाइ थियो। नयाँ पुस्ताप्रति आशावादी रहेको उल्लेख गर्दै उहाँले विभेदका पर्खालहरू भत्कँदै सहअस्तित्व स्थापित हुने विश्वास व्यक्त गर्नुभयाे । अक्षर क्रिएशनद्वारा प्रकाशित ‘अग्निगर्भा’ डा. थापाको पहिलो उपन्यास हो। यसअघि उहाँकाे कथासङ्ग्रह ‘कठपुतला’ र केही गैरआख्यान प्रकाशित भइसकेका छन्। The post अर्चना थापाको पहिलो उपन्यास ‘अग्निगर्भा’ सार्वजनिक appeared first on साहित्यपोस्ट.