आरसिबीको लगातार तेस्रो जित - www.hamrokhelkud.com
एजेन्सी – रिचा घोष र राधा यादवको उत्कृष्ट साझेदारी तथा श्रेयङ्का पाटिलको ५ विकेटको प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले भारतमा जारी महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा गुजरात जायन्ट्स महिलालाई ३२ रनले पराजित गरेको छ। खराब सुरुआतपछि आरसिबीलाई सम्हाल्दै रिचा र राधाले पाँचौँ विकेटका लागि ६६ बलमा १ सय ५ रनको महत्वपूर्ण साझेदारी गरे। रिचाले २८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाइन् । अर्धशतक बनाएकी राधाले ४७ बलमा ६ चौका र ३ छक्कासहित ६६ रन जोडिन् । टोली ४३ रनमै ४ विकेट गुमाएर दबाबमा परेको अवस्थामा यो साझेदारीले आरसिबीलाई बलियो अवस्थामा पुर्यायो । अन्त्यतिर नादिन डे क्लर्कले १२ बलमा २६ रनको इनिङ्स खेल्दा आरसिबीले ७ विकेटको क्षतिमा १ सय ८२ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। गुजरातकी सोफी डेभिनीले ३, कासभी गौतमले २ विकेट लिइन् । १ सय ८३ रनको लक्ष्य पछ्याएको गुजरात जायन्ट्सका धेरै ब्याटरले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो इनिङ्समा बदल्न सकेनन्। इनिङ्सभर एक मात्र ५० रनभन्दा बढीको साझेदारी बन्न सकेपछि गुजरात १८.५ ओभरमा १ सय ५० रन बनाएर अलआउट भयो। टोलीका लागि भारती फूलमालीले सर्वाधिक ३९ रन बनाइन् । आरसिबीका लागि श्रेयङ्काले ३.५ ओभरमा २३ रन खर्चेर ५ विकेट लिइन् । लाउरेन बेलले ३ विकेट हात पारिन् । ३ खेलमा शतप्रतिशत जित निकालेको आरसिबी ६ अंकसहित शीर्ष स्थानमा छ। ४ खेलमा समान २ जित र हारका साथ ४ अंक लिएर ५ टोली सहभागी डब्ल्युपिएलको अंकतालिकाको तेस्रो स्थानमा छ।The post आरसिबीको लगातार तेस्रो जित first appeared on हाम्रो खेलकुद.