वन रक्षक हत्या प्रकरण : घरदेखि ५०० मिटर टाढा जंगलमा टाउको फेला - bishwokhabar.com
काठमाडौं– सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन रक्षक रामईश्वर महतोको टाउको फेला परेको छ । सर्लाही जिल्ला प्रहरीका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो । घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको छ । टाउको नभएको शव हिजो नै फेला परेको थियो । घटनास्थलको मुचुल्का र अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरका ४७ वर्षीय महतोको शव फेला परेको थियो । महतोको शव घरदेखि करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको नभएको अवस्थामा भेटिएको थियो । स्थानीयका अनुसार शनिबार बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए । घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिरहेको थियो । सो घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।