‘ग्रिसमा व्यावसायिक अवसर’ विषयक अन्तर्राष्ट्रिय व्यापार सम्मेलन काठमाडौंमा सम्पन्न - nagariknews.nagariknetwork.com
‘ग्रिसमा व्यावसायिक अवसरहरू’ विषयक अन्तर्राष्ट्रिय व्यापार सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले नेपाल–ग्रिसबिच लगानी, व्यापार तथा सहकार्यका सम्भावनाबारे कूटनीतिज्ञ, व्यवसायी तथा नेपाल–ग्रिस मैत्री संस्थाका प्रतिनिधिलाई एकै मञ्चमा ल्याएको थियो।नेपाल–ग्रिस मैत्री तथा सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा सम्बन्धित सरोकारवालाको सहभागितामा आयोजित सम्मेलन काठमाडौंको रोयल बुटिक होटल एयरपोर्टमा सम्पन्न भएको हो। कार्यक्रममा उद्यमी, नीति निर्माताका प्रतिनिधि, कूटनीतिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।नेपाल–ग्रिस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा: खड्गीको सभापतित्वमा भएको गोष्ठीलाई महासचिव अञ्जिता खड्गीले सञ्चालन , स्वागत एवं कार्यक्रममाथि प्रकाश पारेकी थिइन। सम्मेलनमा गोष्ठीका लागि नेपाल आएका प्राध्यापक डार्विस ल्याटिफ, ग्रिस–नेपाल मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष कृष्ण पोखरेल, संघका कार्यसमिति तथा आजीवन सदस्यहरूको सहभागिता थियो।नेपालका लागि ग्रिसका अवैतनिक महावाणिज्यदूत विक्रम पाँडे काजीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा नेपालका लागि ग्रिसका अवैतनिक महावाणिज्यदूत आङछिरिङ शेर्पा तथा नेपालका लागि माल्टाका अवैतनिक महावाणिज्य दूत दिनेश श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए। यस्तै काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष सुनिल अर्याल, साइकल टुर च्याम्पियन नेपालका अध्यक्ष प्रदीपकुमार महर्जनलगायत पर्यटन व्यवसायी, कन्सल्टेन्सी क्षेत्रका प्रतिनिधि तथा जिल्ला होटल संघका सचिव लालबहादुर बानियाँ लगायतका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।सम्मेलनको मूल सन्देश ‘नाफा मात्र होइन, प्रभाव सिर्जना गर्ने व्यवसाय’ भन्ने अवधारणामा केन्द्रित रहेको आयोजकले जनाएका छन्। दिगो सहकार्य, आपसी समृद्धि र दीर्घकालीन साझेदारीमार्फत नेपाल–ग्रिस आर्थिक सम्बन्धलाई अघि बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।वक्ताहरूले ग्रिसमा पर्यटन, आतिथ्य , हस्पिटालिटी, व्यापार, लजिस्टिक्स, शिक्षा तथा वैदेशिक लगानी क्षेत्रमा रहेका अवसरबारे प्रस्तुति दिएका थिए। साथै नेपाली निजी क्षेत्रको युरोपेली बजारमा पहुँच विस्तार गर्ने सम्भावना र चासोबारे पनि छलफल भएको थियो।सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय तथा नेपाली वक्ताहरूले लगानी वातावरण, नियामक संरचना तथा ग्रिस हुँदै युरोपेली बजारमा प्रवेश गर्न चाहने नेपाली उद्यमीका लागि उपलब्ध व्यावहारिक उपायबारे अनुभव साटासाट गरेका थिए। छलफलका क्रममा श्रम आवागमन, सीप आदान–प्रदान र सांस्कृतिक सहकार्यलाई आर्थिक साझेदारीका पूरक आधारका रूपमा उल्लेख गरिएको थियो।कार्यक्रममा ग्रिस–नेपाल मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष कृष्ण पोखरेलले विभिन्न माध्यमबाट ग्रिस पुगेका नेपालीलाई समस्या पर्दा संघले सहयोग गर्दै आएको जानकारी गराए। यस अवसरमा काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धर, लालबहादुर बानियाँ, चन्द्र किशोर श्रेष्ठ र सुमित सिंहलगायतलाई नेपाल–ग्रिस मैत्री तथा सांस्कृतिक संघको आजीवन सदस्यता प्रदान गरिएको थियो।