बर्दघाटमा बस सडकमै पल्टियाे : एक जनाको मृत्यु, १२ जना घाइते - ehimalayatimes.com
नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुबाहक बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई विपरित लेनमा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार अगाडि गइरहेको अटो रिक्शालाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुष यात्रुलाई उपचारका लागि चिसापानी अस्पताल बर्दघाट लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्यको बर्दघाटकै स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।