एटलान्टिक क्यानडामा रोजर्सले विस्तार गर्यो निःशुल्क ‘डाइरेक्ट-टु-सेल’ स्याटेलाइट सेवा - www.technologykhabar.com
क्यानडाको टेलिकम कम्पनी रोजर्सले एटलान्टिक क्यानडामा आफ्ना 5G+ योजनाका सबै ग्राहकलाई ‘डाइरेक्ट-टु-सेल’ स्याटेलाइट कनेक्टिभिटी सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यससँगै भू–आधारित मोबाइल नेटवर्क कमजोर रहेको यस क्षेत्रमा थप ग्राहकले बिना अतिरिक्त शुल्क सेवा प्रयोग गर्न सक्ने भएका छन्। क्यानडाका चार पूर्वी प्रान्त—न्यूफाउन्डल्याण्ड एन्ड ल्याब्राडर, प्रिन्स एड्वार्ड आइल्यान्ड, नोभा स्कोटिया र न्यू ब्रन्सविक—समेटिएको एटलान्टिक क्यानडामा मोबाइल नेटवर्कले जम्मा २८ प्रतिशत क्षेत्र मात्र कभर गरेको रोजर्सले जनाएको छ। यस्तो अवस्थामा स्याटेलाइट सेवा नेटवर्क पहुँच विस्तार गर्ने किफायती विकल्पका रूपमा अघि सारिएको छ। रोजर्सका प्रमुख प्रविधि अधिकृत मार्क केनेडीका अनुसार यो सेवाले सेल सेवा नपुगेका स्थानमा पनि फोन स्वतः स्याटेलाइटमार्फत जडान हुन्छ र भ्वाइस कलजस्ता एपहरू प्रयोग गर्न सकिन्छ। रोजर्सले जुलाईमा बीटा परीक्षण सुरु गरेको यो सेवा अहिले पूर्ण रूपमा विस्तार हुँदै गएको छ। टेलिकम्स डटकमका अनुसार यो स्याटेलाइट सेवा स्टारलिङ्कद्वारा सञ्चालित भए पनि रोजर्सले आफ्नो मार्केटिङ सामग्रीमा त्यसको उल्लेख न्यून मात्र गरेको छ। बीटा चरणमा निःशुल्क रूपमा उपलब्ध सेवामा सुरुमा टेक्स्ट सन्देश र आपतकालीन सेवामा मात्र पहुँच थियो। डिसेम्बरमा पूर्ण रूपमा सुरु गरिएको सेवामा गुगल म्याप्स, एक्युवेदर, एक्स र विशेष रूपमा ह्वाट्सएप जस्ता एप थपिएका छन्, जसले स्याटेलाइटमार्फत भ्वाइस तथा भिडियो कल गर्न सक्ने सुविधा दिन्छ। पूर्ण डाटा र भ्वाइस सेवा भने अझै विकासकै क्रममा रहेको कम्पनीले जनाएको छ। रोजर्सले यो सेवा प्रतिस्पर्धी नेटवर्कका ग्राहकलाई पनि मासिक १५ क्यानाडियन डलरमा उपलब्ध गराइरहेको छ। कम्पनीका अनुसार बीटा प्रयोगकर्ताले छ महिनामा १० लाखभन्दा बढी सन्देश पठाएका थिए, जसले सेवाको आवश्यकता र माग देखाउने संकेत गरेको छ। यद्यपि, दीर्घकालमा ग्राहकहरू शुल्क तिर्न इच्छुक हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न अझै खुला रहेको विश्लेषण गरिएको छ। The post एटलान्टिक क्यानडामा रोजर्सले विस्तार गर्यो निःशुल्क ‘डाइरेक्ट-टु-सेल’ स्याटेलाइट सेवा appeared first on Technology Khabar.