ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव मिस्री भदौ १ गते नेपाल आउने - corporatekhabar.com
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री आउँदो भदौ १ गते नेपाल आउने भएका हुन् । सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि सचिव मिस्री आउन लागेको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए ।प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए। सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । बरु प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोको सन्देश सचिव मिस्रीमार्फत पठाएका थिए । यसपटक ओलीलाई भारत भ्रमण गराउने गरी प्रधानमन्त्री मोदीको सन्देश लिएर मिस्री नेपाल आउन लागेका हुन् । मिस्री गत वर्ष जुलाई १५ मा सचिवमा नियुक्त भएका थिए । The post ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव मिस्री भदौ १ गते नेपाल आउने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.