नेकपा एमालेको ११ औँ महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान हुने - janatatimes.com
काठमाडौं, मंसिर २६ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा यस पटक निर्वाचन प्रक्रिया विद्युतीय भोटिङ मेसिनमार्फत सञ्चालन गर्न तयारी भइरहेको छ। नमुना मतदानको लागि पार्टी कार्यालयमा राखिएको नमुना भोटिङ मेसिनमा प्रतिनिधि तथा कार्यकर्ताहरूले मतदान गर्ने अभ्यास शुक्रबारबाट नै गरेका छन् । एमालेले पछिल्ला अधिवेशनहरूमा प्रयोग गर्दै आएको राम(लक्ष्मण इनोभेसन प्रालिद्वारा निर्मित मेसिन नै यस पटक पनि प्रयोग गर्ने भएको हो । नमुना मेसिनमार्फत कार्यकर्ताहरूले कसरी बटन थिच्ने, कसरी मत पुष्टि गर्ने, मत सुरक्षित भइसकेपछि मेसिनले कसरी सङ्केत दिने जस्ता प्रक्रियाहरू बुझिरहेका छन्। प्रारम्भिक अभ्यासमै प्रतिनिधिहरूको चासो बढेको छ भने कतिपयले पहिलो पटक विद्युतीय मतदान प्रणालीसँग परिचय पाउँदै उत्सुकता व्यक्त गरेका छन्। महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरमा हुँदै छ । बन्दसत्र भने आइतबार र सोमबार भृकुटीमण्डपमा हुँदै छ । यद्यपि निर्वाचनसम्बन्धी औपचारिक कार्यक्रम तथा तालिका भने पार्टीले अझै सार्वजनिक गरेको छैन। महाधिवेशनका विभिन्न चरणहरूमा कुन पदका लागि कहिले मतदान हुने भन्ने समय तालिका अन्तिम तयारीमा रहेको बताइएको छ। निर्वाचनसम्बन्धी कार्यविधि, मतगणना प्रक्रिया र नतिजा सार्वजनिक गर्ने प्रणालीबारे पार्टीको निर्वाचन समितिले अन्तिम परामर्श गरिरहेको छ। एमालेले पछिल्ला वर्षहरूमा पार्टीभित्र आधुनिक, पारदर्शी र छिटो परिणाम आउने प्रणालीका रूपमा विद्युतीय भोटिङ मेसिनलाई प्राथमिकता दिएको बताइँदै आएको छ। यस पटक पनि सोही प्रविधि प्रयोग हुने भएपछि प्रतिनिधिहरूले समयमै अभ्यास गर्नुपर्ने भएकाले नमुना मेसिन राखिएको हो । प्रतिनिधिहरूले अभ्यासका क्रममा मेसिन प्रयोग सहज भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले भोट हाल्ने प्रक्रियामा त्रुटि कम हुने, परिणाम छिटो आउने र विवाद घट्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशन स्थलमा आवश्यक सङ्ख्यामा मेसिन राखिने तैयारी भइरहेको बताइएको छ। पार्टीले महाधिवेशनको सम्पूर्ण तयारी तीव्र बनाएको छ। विशेष गरी निर्वाचन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले प्राविधिक पूर्वतयारीलाई प्राथमिकता दिइएको छ ।