Redirecting...

श्रीमानले गरे प्यारालाइसिस भएकी श्रीमतीको घाँटी थिचेर हत्या - ehimalayatimes.com

श्रीमानले गरे प्यारालाइसिस भएकी श्रीमतीको घाँटी थिचेर हत्या - ehimalayatimes.com
Source: hmlt

मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक दर्दनाक र स्तब्ध बनाउने घटना सार्वजनिक भएको छ। ४५ वर्षीय मानबहादुर शिवभक्तीले आफ्नै ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्। घटना सोमबार बिहान करिब ६ बजे घटेको बताइएको छ। श्रीमतीको हत्या गरेलगत्तै करिब साढे ८ बजे मानबहादुर स्वयं मकवानपुर जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर घटनाबारे जानकारी दिएका थिए। उनले तनावका कारण आफूसँग आत्मनियन्त्रण गुमेको र त्यसै कारण श्रीमतीको हत्या भएको बताएको प्रहरी स्रोतले जनाएको छ। साथै, हत्या पश्चात आत्महत्या प्रयास गर्दा प्रयोग गरिएको डोरी चुँडिएर ज्यान जोगिएकोसमेत बताइएको छ। मृतक दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसका कारण पीडित थिइन् र हिँडडुल गर्न असमर्थ थिइन्। मानबहादुर विगतदेखि ससुरालीमै बस्दै आएका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको छ। प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको नेतृत्वमा प्रमुख अनुसन्धान टोली खटिएको छ भने इलाका प्रहरी कार्यालयबाट प्र।नि। बिरेन्द्र रायमाझीको टोलीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार मृतकको शव ओछ्यानमै उतानो अवस्थामा भेटिएको छ। घटनास्थललाई सुरक्षित राखेर आवश्यक कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनालाई गम्भीरता पूर्वक लिएर हरेक कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ।