शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, कमसेकम अतिक्रमणकारी भन्ने गलत आरोप जनतामाथि नलगाऊ : कमल थापा - janatatimes.com
काठमाडौं, मंसिर २० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हेटौँडामा कानुनी राजको उपहास गर्दै जनताको निजी सम्पत्तिमाथि जबरजस्ती आक्रमण गरेको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतले सडक विस्तारका नाममा हुने घर–जग्गा भत्काउने कार्य ‘तत्काल रोक्न’ आदेश दिँदै आएको अवस्थामा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारले नागरिकको वैध स्वामित्वमा रहेको जग्गा कब्जा गर्ने गैरकानुनी कदम भएको बताउनुभएको ५ । अध्यक्ष थापाले भन्नु भएको छ, ‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नु’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दै छ, बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नु अगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबरजस्ती कब्जा गर्ने कार्य जघन्य अपराध हो। ’ उहाँले सत्ता र शक्तिको दुरुपयोग गर्दै घर भत्काउने सरकारी कदम संवैधानिक शासन र कानुनको सर्वोच्चतामाथि ठाडो चुनौती भएको टिप्पणी गर्नुभएको छ । ‘शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ’, उहाँले लेख्नु भएको छ । सरकारको अहिलेको शैलीले नागरिक अधिकार, स्वामित्व हक र सर्वोच्च न्यायालयको आदेशको सम्मान जस्ता संवैधानिक मूल्यहरूलाई कमजोर बनाएको उहाँको धारणा छ ।