Redirecting...

म झोले बन्न होइन, विवेक प्रयोग गर्ने कार्यकर्ता बन्न रास्वपामा आएको हुँ: राजिव खत्री - nagariknews.nagariknetwork.com

म झोले बन्न होइन, विवेक प्रयोग गर्ने कार्यकर्ता बन्न रास्वपामा आएको हुँ: राजिव खत्री - nagariknews.nagariknetwork.com
Source: ngrk

सञ्चारकर्मी राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।पार्टी प्रवेश लगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै खत्रीले आफू कुनै नेताको पछि लाग्ने झोले बन्न नभई विवेक प्रयोग गर्ने कार्यकर्ता बन्न राजनीतिमा होमिएको स्पष्ट पारे।खत्रीले भने, ‘झोले भनेको विचारलाई बन्धकी राखेर ‘हो’ मा ‘हो’ मात्र मिलाउने व्यक्ति हो। तर, कार्यकर्ताको आफ्नो विचार हुन्छ, उसले विवेकको प्रयोग गर्छ। म कार्यकर्ता बन्नका लागि रास्वपामा प्रवेश गरेको हुँ।’विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय खत्रीले बुधबारदेखि आफ्नो पेसागत यात्रालाई स्थगन गर्दै राजनीतिक यात्रा आरम्भ गरेको घोषणा गरे।उनले पत्रकारितामा रहँदा सधैँ भुइँमान्छेको आवाज बोलेको र सत्तालाई प्रश्न गरेको स्मरण गर्दै अब ती मुद्दालाई राजनीतिक मञ्चबाट अघि बढाउने बताए।‘मैले पत्रकारिता गर्दा कहिल्यै कुनै दलको झोला बोकिनँ, तर आज म गर्वका साथ रास्वपाको साधारण सदस्य बनेर झोला बोक्दैछु,’ उनले भने।मुलुकको समसामयिक राजनीतिलाई महाभारतको युद्धसँग तुलना गर्दै खत्रीले अहिले देशमा कौरव र पाण्डव पक्षबीच ध्रुवीकरण भइरहेको टिप्पणी गरे। उनले आफू सत्य र न्यायको पक्षमा उभिनुपर्छ भन्ने लागेर रास्वपा रोजेको बताए।‘महाभारतमा कौरव र पाण्डवको युद्ध हुँदा को कता लाग्ने भन्ने धर्मसंकट थियो। अहिलेको राजनीतिमा पनि त्यस्तै अवस्था छ,’ खत्रीले भने, ‘पापको पक्षमा लाग्नु अधर्म हो। मलाई लाग्यो, वैकल्पिक राजनीतिको केन्द्रविन्दु रास्वपा हो र यो नै अहिलेको सन्दर्भमा पाण्डव पक्ष हो। त्यसैले सत्यको पक्षमा वकालत गर्न म यहाँ आएको हुँ।’काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने चर्चाबारे सोधिएको प्रश्नमा खत्रीले आफू संस्थागत निर्णयमा विश्वास गर्ने बताए। ‘म यो संस्थामा आबद्ध भइसकेपछि टिमवर्कको कुरा हुन्छ। मेरो व्यक्तिगत चाहना भन्दा पनि पार्टीको आवश्यकता र निर्णय सर्वोपरि हुन्छ,’ उनले भने।उनले आफू काठमाडौं-४ को मतदाता रहेको र विगतमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भोट हालेको स्वीकार गर्दै अहिले परिस्थिति फेरिएको सङ्केत गरे।‘म त्यही ठाउँको मतदाता हुँ, तर अब म राजनीतिमा आइसकेपछि पार्टीले जहाँ खटाउँछ, त्यहीँ जिम्मेवारी पूरा गर्छु,’ उनले थपे।खत्रीले २००७ सालदेखिका राजनीतिक परिवर्तनहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको र उद्योग कलकारखाना बन्द भई देशको अवस्था नाजुक भएको भन्दै अबको निकास रास्वपाले मात्र दिन सक्ने दाबी गरे।