अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर –अर्थमन्त्री खनाल - janatatimes.com
काठमाडौं, १० पुस । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनुभएको छ ।राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले वित्तीय संस्थाले अध्ययन–अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताउनुभयो । देशमा भित्रिने रेमिट्यान्सको ठूलो भाग उत्पादनशील क्षेत्रमा परिचालन नभएकोमा चिन्ता व्यक्त गर्दै अर्थमन्त्री खनालले कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई यस्तो अध्ययन तथा अनुसन्धानको नेतृत्व गर्न सुझाव दिनुभयो ।राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दा १९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले प्रतिवेदन सार्वजनिक गर्दै कर्जा प्रवाह कमजोर रहेको जानकारी दिनुभएको हो ।उहाँका अनुसार बैंकसँग अहिले कर्जा निक्षेपको अनुपातका आधारमा १ खर्ब ७१ अर्ब तथा तरलताका आधारमा १ खर्ब ३९ अर्बको लगानीयोग्य रकम रहेको छ । उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको दाबी गर्दै उहाँले लगानीका नयाँ क्षेत्रहरू पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको निष्क्रिय कर्जा ४ दशमलव ५५ प्रतिशत पुगेको छ ।