संस्कृति इन्टरनेसनल स्कुलकी निर्देशक आचार्य आईसीएको राजदूत नियुक्त - kendrabindu.com
काठमाडाैं । ९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयहरूलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) ले नेपालका दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ । संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्ने छिन् । उनले इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) अन्तर्गत सञ्चालित आईईवाईसी, आपीसी र आईएमआईसी मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नेछिन् । यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आफूले गरेको समर्पणको कदर गरेको आचार्यले बताएकी छिन् । उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो । राजदूतका रूपमा नियुक्त भएपछि आचार्यले अब अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्ने बताएकी छिन् । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहनेछ ।