सिलगढ़ीमा कुबेरचन्द्र दाहालको उपन्यास ‘टिस्टा–रङ्गीत’ लोकार्पण - sahityapost.com
सिलगढ़ी । सिक्किमवासी सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा–रङ्गीत’ सिलगढ़ीमा लोकार्पण गरिएको छ। लोकार्पण समारोह आयोजक समिति तथा प्रकाशक बुक–आण्ट पब्लिकेशन हाउसको संयुक्त आयोजनामा भानुभक्त समिति भवनस्थित किताब केफेमा कार्यक्रम सम्पन्न भएको हो। समारोहको अध्यक्षता उत्तरबङ्ग विश्वविद्यालयका भूतपूर्व प्राध्यापक लक्ष्मीकान्त शर्माले गर्नुभएकाे थियाे भने साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान, बिर्तामोड़का अध्यक्ष एवं संरक्षक देवीभक्त श्रेष्ठ प्रमुख अतिथि रहनुभएकाे थियाे । कृतिको विधिवत् लोकार्पण लक्ष्मीकान्त शर्मा, देवीभक्त श्रेष्ठ, प्राध्यापक डा. मोहन पी. दाहाल र लेखक कुबेरचन्द्र दाहालले संयुक्त रूपमा गर्नुभएकाे थियाे । उपन्यासमाथि टिप्पणी गर्दै गायक, नाट्यकार तथा साहित्यकार जगदीश शर्माले ‘टिस्टा–रङ्गीत’ लाई सिक्किम र दार्जीलिङ क्षेत्रको भाषिक–सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने सृजनात्मक दस्तावेजको रूपमा चित्रित गर्नुभयाे । सर्जक संवाद सत्रमा लेखक दाहालले भारतीय नेपालीहरूले भोग्दै आएका पहिचान, विस्थापन र सांस्कृतिक सङ्घर्षलाई उपन्यासको केन्द्रीय विषयवस्तु बनाएको बताउनुभयाे । उहाँले भारतीय संविधान नेपालीमा अनुवाद गर्ने आफ्नो प्रयास र त्यस कृतिको तेस्रो संस्करणसम्मको प्रकाशनले प्राप्त गरेको स्वीकार्यतासमेत स्मरण गर्नुभयाे । कार्यक्रममा लक्ष्मीकान्त शर्मा र जीवन अधिकारीलाई सम्मान गरिएको थियो। कवि लीला अनमोलले कविता वाचन गर्नुभयाे भने सर्जकको परिचयसम्बन्धी श्रव्य–दृश्य प्रस्तुति पनि राखिएको थियो। स्वागत सम्बोधन तथा प्रकाशकीय वक्तव्य बुक–आण्ट पब्लिकेशन हाउसका निर्देशक राजा पुनियानीले राख्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन युवराज सुन्दासले गर्नुभएकाे थियाे । नेपाल र भारतका विभिन्न क्षेत्रबाट साहित्यकार, प्राध्यापक, कलाकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त समारोहले उपन्यास ‘टिस्टा–रङ्गीत’ लाई पाठकमाझ औपचारिक रूपमा परिचित गराएको छ। The post सिलगढ़ीमा कुबेरचन्द्र दाहालको उपन्यास ‘टिस्टा–रङ्गीत’ लोकार्पण appeared first on साहित्यपोस्ट.