Redirecting...

‘२१ फागुनको चुनाबपछि रास्वपाको नयाँ सरकार : बालेन शाह प्रधानमन्त्री, अर्थमन्त्री स्वर्णिम वाग्ले’ - bishwokhabar.com

‘२१ फागुनको चुनाबपछि रास्वपाको नयाँ सरकार : बालेन शाह प्रधानमन्त्री, अर्थमन्त्री स्वर्णिम वाग्ले’ - bishwokhabar.com
Source: bsbk

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा ताजा जनादेश लिएर सरकार बनाउने हैसियतसहित संसद् आउने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनका विभिन्न नेतासँग गरेको समायोजन घोषणा कार्यक्रममा बोल्दै लामिछानेले समयमै निर्वाचन हुने र सो निर्वाचनमार्फत प्राप्त जनादेशले मुलुकको काँचुली फेर्ने दाबी गरे । उनले ‘अब देशमा केही हुन्छ’ भन्ने कुराको आशा सञ्चार भएको र निर्वाचनले पुराना शक्तिहरू किनारामा पुग्ने बताए । उनले पुराना शक्तिहरू मिल्ने कुरा सुनिरहेको भन्दै युवाहरूको विश्वासले भरिएको रास्वपाप्रति भरोसा गर्न आग्रहसमेत गरे । उनले कुनै पनि षडयन्त्र गरेर निर्वाचन भाँड्न सकिन्छ कि भनेर कसैलाई नसोच्नसमेत चेतावनी दिए । ‘विभिन्न षड्यन्त्र गर्दा चुनाव सर्ला कि भन्ने नसोचौँ । चुनावबाटै मुलुकले निकास पाउने हो,’ उनले भने । रास्वपा सभापति लामिछानेले आगामी निर्वाचनमा बहुमत आए डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा पनि गरेका छन् । उनले सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा पार्टीका उपसभापति वाग्लेलाई सम्बोधन गर्दै भने, ‘डाक्टर साब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस् ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा जान लागेको रास्वपाले वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेको हो । उनले पुराना दलका नेता कार्यकर्तालाई कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आग्रह पनि गरे । ‘हाम्रो एकताले हामीमाथि जिम्मेवारी थपिएको छ । अब हामी शक्तिशाली भयौं भनेर अपदस्थ भएका साथीहरूलाई कटाक्ष नगरौँ,’ उनले भने । उनले पुराना राजनीतिक दलहरूलाई अक्षमता स्वीकार्न पनि अनुरोध गरे । –पत्रपत्रिकाबाट