Redirecting...

…त्यसपछि कुलमानलाई झोंक चल्यो, अनि ज्योतिष हरिहरमाथि विपद्को रिस पोखे - www.sutranews.com

…त्यसपछि कुलमानलाई झोंक चल्यो, अनि ज्योतिष हरिहरमाथि विपद्को रिस पोखे - www.sutranews.com
Source: sutr

काठमाडौं । विज्ञान र प्रविधिको युगलाई चुनौती दिंदै अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीले मौसम पूर्वानुमानलाई टेरेनन्। अनि आफ्नो फेसबुकमा लेखे, ‘मौसम विभागले भनेअनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने छ र सतर्कता अपनाउन नेपाल सरकारले अनुरोध गरेको छ। तर अझैसम्मको अवस्थालाई हेर्दा मेरो शंका छ कि वर्षा सामान्य मात्र हुनेछ। सामान्य वर्षा भएर स-साना क्षति भए त्यो आफ्नो ठाउँमा हुन्छ, तर अहिले सम्म नदेखिएको ठूलो महा वर्षा, ठूलो क्षति हुने अवस्था देखिदैन, ढुक्क हुनुहोस्।’ त्यति मात्र हैन, उनले अगाडी थपे- एक जना ज्योतिषीले सामान्य भविष्यवाणी गर्दा ‘भ्रम फैलायो’ भनेर जेल हालिन्छ। तर यदि आज मौसम विभागले भनेको कुरा भोलि पुरा भएन भने त्यो के फैलाएको हुन्छ ? यसतर्फ ध्यान केन्द्रित होस्…आफ्नो सुरक्षा अवश्य गर्नुस्, तर नआतिनुस्। पूर्णिमा आउँदैछ, त्यसैले कुनै ठूलो अनिष्ट हुँदैन। तर, हरिहरले भनेजस्तो भएन। अहिलेसम्मको तथ्यांक अनुसार विपदका कारण देशभर ४८ भन्दा बढीको ज्यान गएको छ भने १० करोड बढीको प्रारम्भिक क्षति भएको छ। कयौं राजमार्ग अवरूद्ध छन्। यही कारण हरिहले आफ्नो विवादास्पद टिप्पणीका लागि माफी मागेका छन्। त्यसअघि सरकारको मौसम पूर्वानुमान महाशाखाले १८ देखि २० असोजसम्म भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। तर, उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै विभागको पूर्वानुमानमाथि शंका व्यक्त गरेका थिए। वैज्ञानिक विषयलाई ज्योतिष र पूर्णिमा जस्ता आस्थाका विषयसँग जोडेर भ्रम फैलाएको र सरकारी निकायको चेतावनीलाई कमजोर बनाएको भन्दै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। प्रयोगकर्ताहरूले उनलाई गैरजिम्मेवार भएको आरोप लगाउँदै ट्रोल गरेका थिए। आलोचना चुलिएपछि अधिकारीले आफ्नो पुरानो पोस्ट हटाएर नयाँ पोस्टमार्फत माफी मागेका छन्। उनले लेखेका छन्, “मौसम सम्बन्धी हिजो लेखिएको कुराप्रति क्षमाप्रार्थी छु। सबै जना आफ्ना-आफ्ना स्थानमा सुरक्षित रहनुहोस्।” त्यसपछि झोक्किए कुलमान सरकारले वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेकोमा ज्योतिषले नहुने बताएका कारण थप क्षति भएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ज्योतिष हरिहरलाई लक्षित गर्दै असन्तुष्ट पोखे। आफूले सुनेको कुरा रहेको बताउँदै मन्त्री घिसिङले भने, ‘केहि ज्योतिषहरुले यो हुँदैन, गलत हो भनेर भनेको कारणले पनि लाङटाङमा त्यसरी ट्रेकिङमा पनि जानु भयो की भन्ने छ। हामीले पटक पटक भनेर जानकारी पनि दिइरहेका थियौँ। हामीले दिएको जानकारीलाई गतल भन्न खोजियो।’