दलितको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ, आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु - nagariknews.nagariknetwork.com
सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । उनीविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरी प्रहरीले सोमबार जिल्ला अदालत सिरहाबाट अनुसन्धानका लागि म्याद लिने सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । अरङकास्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका पाँच घर पासवान (दलित) परिवारको घर भत्काउन नगरपालिकामा पत्राचार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका हुन्। उनीसहित जनाविरुद्ध प्रहरीमा पीडित परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । गत शुक्रबार पाँच घर पासवान परिवारलाई दुर्व्यवहार गर्दै स्थानीय प्रभाष सिंहसहितको समूहले तोडफोड र लुटपाट गरेको पीडित परिवारको आरोप छ ।घटना के हो ?विश्वकर्मा पूजाको दिन (असोज १ गते) अरङ गाउँको गुद्री बजारमा आर्केष्ट्रा (नाचगान कार्यक्रम) थियो । सो कार्यक्रममा स्थानीय प्रभाष सिंह(राजपुत)सहितको समूह र पासवानहरुबीच बिवाद भयो । विवाद बढ्दै जाँदा सिंह समूहले पासवानहरुलाई गाउँबाट उठीबास लगाउने धम्की दिँदै अश्लील गालीगलौज गरेका थिए । त्यसको प्रतिवादमा उत्रेका पासवान परिवारले असोज ३ गते इलाका प्रहरी कार्यालय, मिर्चैयामा सिंहसहितका व्यक्तिमाथि उजुरी दिए । उजुरीउपर छानबिन गर्न प्रहरीले सिंह समूहलाई पटक–पटक छलफलमा बोलाएको थियो । तर, उनीहरु उपस्थित भएनन् । बरु सिंहसहितको समूहले आफूविरूद्ध प्रहरीमा निवेदन दिने हिम्मत गर्ने भन्दै गत शुक्रबार उनीहरुको घर तोडफोड गरे। करिब ५० जनाको समूहमा आएका सिंहसहितको समूहले दुर्व्यवहार गर्दै रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान, सोभित पासवानसहित पाँच जनाको घर भत्काइदिएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन्। घरमा भएको अन्नपात, लत्ताकपडा, गरगहना, नगदलगायत पनि सो समूहले लुटेर लगेको पीडित परिवारको आरोप छ।घटनापछि पीडित परिवारले शनिबार १३ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दामा जाहेरी गर्दा गराएका छन्। कल्याणपुर ८ का वडाध्यक्ष रामकिशोर यादवसहित स्थानीय प्रभाष सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनामाथि पीडित परिवारले जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक शर्माले बताए। जाहेरी दर्ता गरी प्रहरीले वडाध्यक्ष यादवसहित गणेश र कैलाशलाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको उनले बताए। उनीहरूलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्रीपालमूनी पीडितको बासघर भत्काएकै दिनदेखि भीषण वर्षा सुरु भयो। छिमेकी र आफन्तबाट प्राप्त त्रिपालमुनी जसोतसो ओत लाग्न बाध्य सञ्जुदेवी पासवान भन्छिन्,‘गाउँकै सरकार(वडाध्यक्ष)को आडमा हामीलाई बेघर बनाइयो। वर्षामा दुस्मनले पनि ओत लाग्ने ठाउँ दिन्छ तर हामीलाई गाउँकै सरकारको निर्देशनमा घरवारविहीन बनाइयो।’सञ्जु मात्र नभई यहाँका पाँच घर पासवान परिवारको यस्तै बेहाल र कष्टकर बनेको छ। पीडित परिवार बसेको ठाउँमै पुगेर स्थानीय प्रशासनले खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएको छ। पीडित परिवारले स्थानीय प्रशासन समक्ष आफूहरुलाई दीर्घकालीन समाधान दिन आग्रह गर्दै आएका छन्।