अपी पावर जलविद्युतबाट रियल इस्टेटमा, सवा अर्बमा झम्सिखेलमा १० तले अपार्टमेन्ट बनाउँदै - www.nepalclicks.com
काठमाडौं। जलविद्युतमा लगानी गरिरहेको अपी पावर कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत रियल इस्टेट व्यवसायमा आफ्नो लगानी विविधिकरण गरेको छ। सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले हाल ललितपुरको झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाइरहेको छ। अपी इन्फ्रा फेज वान नाम दिइएको अपार्टमेन्टको अनुमानित लागत एक अर्ब २७ करोड ७० लाख रुपैयाँ रहेको छ। अपार्टमेन्टमा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। अपार्टमेन्ट बनाउन आवश्यक वित्तीय व्यवस्थापन भइसकेको छ। हालसम्म ५३ प्रतिशत वित्तीय प्रगति भएको अपी इन्फ्राले जनाएको छ। यस्तै भौतिक प्रगति पनि ५३ प्रतिशत हारहारीमा रहेको कम्पनीले जनाएको छ। अपार्टमेन्ट आगामी सन् २०२७ को मध्य जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। अपार्टमेन्ट एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अपी इन्फ्राका अध्यक्ष सतिश न्यौपानेले बताए। पहिलो फेजमा निर्माणाधीन ४३ युनिट मध्ये २१ वटा बुकिङ भइसकेको छ। उक्त बुकिङबाट अपीले पाँच करोड ३० लाख रुपैयाँ संकलन गरेको छ। एक बेड, हल र किचन भएको एक युनिट, दुई बेड, हल र किचेन भएको २७ र तीन बेड, हल र किचेनसहितको १५ युनिट रहेको कम्पनीले जनाएको छ। अपार्टमेन्टमा शिक्षण संस्था, अस्पताल, बैंक, एटीएम, सपिङ मल, खुद्रा पसल, सुविधाजनक पहुँच हुनेछ। अपार्टमेन्टमा समुदायिक बैठक हल, फिटनेस सेन्टर, निगरानी सहितको सीसी टिभी सुरक्षा, पानी प्रशोधन प्लान्ट, भरपर्दाे बिजुली आपूर्ति, ढल प्रशोधन सुविधा, सबै एकाइहरूमा स्मार्ट सुविधा र विद्युतीय सवारी साधन चार्जिङ स्टेशनसहित आधुनिक सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ। यसैगरी अपी इन्फ्राले राजधानीको नयाँ बानेश्वरमा कार्यालय प्रयोजनका लागि अपी टावर बनाइरहेको छ। टावर बनाउन ४२ करोड ६० लाख रुपैयाँ लाग्ने भएको छ। टावरमा ३४ प्रतिशत ऋण र ६६ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ। टावर बनेपछि कर्पोरेट अफिसहरुलाई भाडामा दिने लक्ष्य अपी इन्फ्राको छ। जग्गा खरिद गरेर अहिले भवन निर्माण गरिरहेको छ। टावरको काम आगामी एक वर्ष अर्थात सन् २०२७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ। अपी इन्फ्रा सन् २०२४ मा स्थापना भएको हो। अपी पावर कम्पनीले जलविद्युत र सोलार गरी आधा दर्जन आयोजनाबाट ऊर्जा उत्पादन गरिरहेको छ। अपी पावरले ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना बनाउने भएको छ। अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवद्र्धन गरिरहेको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना एक्वायर गरिसकेको छ।अपीले अहिलेसम्म जलविद्युत र सौर्य ऊर्जा गरी आधा दर्जन आयोजना सम्पन्न गरी ६२.५ मेगावाट बिजुली उत्पादन गरिरहेको छ। अपीले ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाडका साथै ४ मेगावाटको चन्द्रपुर सोलार, एक एक मेगावाटको ढल्केबर र सिमरा सोलार परियोजनाबाट ऊर्जा उत्पादन गरिरहेको छ। मस्र्याङ्दी आयोजना सम्पन्न भएपछि अपीको विद्युत उत्पादन क्षमता बढेर ११२ मेगावाट पुग्नेछ।