अमेरिकाले मादुरोलाई ३० मिनेटमै लियो नियन्त्रणमा, १५० सैन्य विमान प्रयोग - bishwokhabar.com
काठमाडौं– अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरेको सैन्य कारबाही ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको र त्यसमा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरिएको खुलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्ना स्वास्थ्यसम्बन्धी पोस्ट गरिरहेका बेला भेनेजुएलाविरुद्धको ‘ठूलो स्तरको’ अमेरिकी सैन्य अपरेसन अन्तिम चरणमा पुगिसकेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ‘एब्सोल्युट रिजोल्भ’नाम दिइएको उक्त अपरेसन महिनौंदेखि योजनाबद्ध र अभ्यास गरिएको थियो । एकपटक शुरू भएपछि यो ३० मिनेटमै सम्पन्न भयो र केही घण्टाभित्रै मादुरोको शासन समाप्त भएको अमेरिकी दाबी छ । मादुरोको निवासको हुबहु नक्कल बनाएर अभ्यास आक्रमणअघि केही दिनसम्म अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै आफ्नो उपस्थिति विस्तार गरेको थियो । एसोसिएटेड प्रेसका अनुसार गुप्तचर निकायहरूले मादुरोको दैनिक गतिविधि, विभिन्न समयमा उनी कहाँ बस्छन्, उनका बानीबेहोरा, पाल्तु जनावरदेखि लगाउने कपडासम्मको विवरण अध्ययन गरेका थिए । राष्ट्रपति ट्रम्पका अनुसार मादुरो बस्ने स्थानको पूर्ण रूपमा उस्तै प्रतिरूप बनाएर अभ्यास गरिएको थियो । ‘उनीहरू छिर्ने घर जस्तै देखिने, त्यही इस्पात र संरचनासहितको घर नै बनाइएको थियो’, ट्रम्पले भनेका छन् । ट्रम्पले अपरेसनका क्रममा भेनेजुएलाको एक सहरका ‘लगभग सबै बत्ती निभाइएको’ पनि बताएका छन् । ‘उनी किल्लाभित्र थिए’, ट्रम्पले फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा भने । संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले तयारी अत्यन्त गहन रहेको बताए । ‘हामी सोच्दछौं, विकास गर्छौं, तालिम दिन्छौं, अभ्यास गर्छौं, समीक्षा गर्छौं र फेरि अभ्यास गर्छौं, सही गर्न होइन, गल्ती नहोस् भनेर’, उनले भने। १५० भन्दा बढी विमान भेनेजुएलाको हवाई क्षेत्रमा सीबीएस न्युजका अनुसार राष्ट्रपति ट्रम्पले पूर्वी समयअनुसार राति १०:४६ बजे अपरेसनको अनुमति दिएका थिए । मौसम अनुकूल नहुँदासम्म अमेरिकी सेनाले आक्रमण रोकेको थियो र बादल हटेपछि मात्र कारबाही अघि बढाइएको एपीले जनाएको छ । जनरल केनका अनुसार हेलिकोप्टरहरू समुद्रमाथि निकै तल्लो उचाइमा उडे ताकि पहिचान हुन नदिइयोस्, जबकि माथिबाट अमेरिकी विमानहरूले सुरक्षा घेरा दिएका थिए । ब्लूमबर्गका अनुसार भेनेजुएलाको हवाई सुरक्षा प्रणाली निष्क्रिय बनाएपछि १५० भन्दा बढी अमेरिकी विमान देशको हवाई क्षेत्रमा प्रवेश गरेका थिए । यसैबीच, आर्मी डेल्टा फोर्सका कमान्डोहरू मादुरो बसेको सैन्य आधारमा पुर्याइएका थिए । मादुरोको असफल भाग्ने प्रयास अमेरिकी टोलीले ढोका फोड्दै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सुरक्षित कोठामा पस्नुअघि नै उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘उनी सुरक्षित स्थानमा पुग्ने प्रयासमा थिए । ढोका निकै बाक्लो र भारी थियो । उनी ढोकासम्म त पुगे, तर बन्द गर्न सकेनन् ।’ ट्रम्पका अनुसार अमेरिकी सैनिकहरूसँग बलियो इस्पात काट्न सक्ने ‘विशाल ब्लोटर्च’ पनि तयारी अवस्थामा थियो । ‘हामीसँग भएको विशेष क्षमताका कारण कराकासका बत्तीहरू अधिकांश रूपमा निभाइएका थिए,’ उनले थप विवरण नदिई भने । रक्षा मन्त्री पिट हेगसेथले यस कारबाहीलाई ‘ठूलो संयुक्त सैन्य तथा कानूनी कारबाही’ भनेका छन् । राजधानी कराकासमा कम्तीमा सातवटा विस्फोटको आवाज सुनिएको बताइएको छ । पक्राउपछि के भयो ? मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत अमेरिकी युद्धपोतमा लगिएको र त्यसपछि अमेरिकातर्फ पठाइएको थियो । ट्रम्प प्रशासनले उनलाई न्युयोर्कमा मुद्दा चलाउने योजना बनाएको जनाएको छ । फ्लोरिडास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले केही अमेरिकी सुरक्षाकर्मी घाइते भए पनि कसैको मृत्यु नभएको विश्वास व्यक्त गरे । तर भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले आक्रमणका क्रममा सर्वसाधारण र सैनिकको मृत्यु भएको दाबी गरिन् । टेलिभिजन सम्बोधनमा उनले मादुरोको रिहाइको माग गर्दै उनलाई देशको वैध राष्ट्रपति भनिन् । साथै, उनले वासिङ्टनसँग वार्ताको सम्भावना पनि खुला राखिन् । ‘हामी सम्मानजनक सम्बन्धका लागि तयार छौं’, रोड्रिगेजले भनेकी छन् । यो अपरेसनले अमेरिका र अन्तर्राष्ट्रिय समुदायमा आलोचना जन्माएको छ । यद्यपि ह्वाइट हाउसले यसलाई निर्णायक र सावधानीपूर्वक सम्पन्न गरिएको कारबाहीको रूपमा व्याख्या गरेको छ ।