कार्यक्रम ‘कठघरा’ बुधवारदेखि प्रसारण हुने - www.sutranews.com
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कठघरा’ को प्रसारण बुधबारदेखि सुरु हुने भएको छ । बताइएअनुसार हिमालय टिभी र ओएसआरको युट्युब च्यानलमा शो स्ट्रिम हुनेछ । मंगलबार पत्रकार सम्मेलन आयाेजना गरी कार्यक्रमबारे जानकारी गराइएकाे हाे । नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको सन्दर्भमा कार्यक्रम आउन लागेको जनाइएकाे छ । ‘कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो’ विज्ञप्तिमा भनिएको छ । सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजकले जानकारी दिएका छन् । आगामी निर्वाचन र पछिल्लो समय जेन-जीसहितका युवापुस्ताबाट उठिरहेका आवाज र आन्दोलनले देशमा पारदर्शीता र जबाफदेही संवादको माग बढाइरहेको अवस्थामा कार्यक्रमले त्यसै आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको उल्लेख छ । पत्रकार सम्मेलनमा कार्यक्रमका निर्माता थमनकुमार भण्डारीले उपस्थित सञ्चारकर्मी तथा अतिथिलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, अवधारणाबारे प्रकाश पारे । कथानक फिल्म निर्माण गर्दै आएका निर्माता भण्डारी टेलिभिजन कार्यक्रमको निर्माणतर्फ अग्रसर भएका हुन् । कार्यक्रममा डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले कार्यक्रमले नेपाली सार्वजनिक बहसमा ल्याउने नयाँ अभ्यास र उत्तरदायित्वपूर्ण पत्रकारिताप्रतिको प्रतिबद्धता प्रस्तुत गरे । कूल १८ एपिसोड प्रसारण हुनेछ, जसअन्तर्गत हरेक बुधवार राति ८ बजेदेखि दर्शकले कार्यक्रम हेर्न सक्नेछन् । कजारिया टायल्स शीर्ष प्रायोजकका रूपमा छ भने इन एसोसिएसन विथ वात्सल्य नेचुरल आइभिएफ, बैङ्किङ पार्टनर एभरेस्ट बैङ्क, इन्स्योरेन्स पार्टनर नेपाल लाइफ इन्स्योरेन्स, पावर्ड बाई मलको एप र को-स्पन्सर टेन प्लास्ट पाइप, ट्याङ्क एन्ड फिटिङ्गस् कार्यक्रमका अन्य साझेदारका रूपमा जोडिएका छन् ।