किन जान्छ झ्याप्प–झ्याप्प बिजुली ? कुलमानकाे जवाफ यस्ताे - www.sutranews.com
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनदेखि देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरोध छिट्टै हल हुने बताएका छन् । आइतबार, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले बाढी–पहिरोको कारण केही ठाउँमा विद्युत् अवरोध भएको तर, छिट्टै हल गर्ने बताए । “कुनै ठाउँमा पोल ढलेको छ, केही स्थानमा तार चुँडिएको छ, यिनै कारणले विद्युत् आपूर्ति अवरुद्ध भएको हो, तर यो ठुलो समस्या होइन”, मन्त्री घिसिङले भनेका छन् । पत्रकार सम्मेलनमा उनलाई पत्रकारहरूले ‘किन जान्छ झ्याप्प–झ्याप्प बिजुली ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भनेका छन्, “प्राधिकरणको टोली निरन्तर विद्युत् आपूर्ति बहाल राख्न काम गरिरहेको छ र यस अवस्थामा विद्युत् जाने कुनै समस्या छैन । अहिले बिजुलीको खपत पनि कम भएकाले कुनै अपुगको स्थिति छैन ।” उनले खराब मौसम, बाढी र पहिरोका कारण केही जलविद्युत् आयोजनामा समस्या उत्पन्न भएको भए पनि प्राविधिक कारणले विद्युत् जाने समस्या भएको बताएका छन् । साथै, मन्त्री घिसिङले समस्या लामो समयसम्म नरहने दाबी गरेका छन् । “समस्या देखिएका ठाउँमा समाधानका लागि काम भइरहेको छ र यो समस्या लामो समयसम्म रहनेछैन”, उनले भनेका छन् । उनले अहिले कुनै पनि खालको लोडसेडिङ नरहेको पनि बताएका छन् ।