एमाले महाधिवेशन: अध्यक्षका प्रत्याशी ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान - janatatimes.com
काठमाडों, पुस २ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गर्नुभएको हो । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी मतदान सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए । विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २ हजार २ सय ६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । मतदान भइरहँदा प्रत्याशीहरुले प्रतिनिधिहरुसँग मत मागिरहेका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।